महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात


बैतडी, भदौ ६ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेलापरेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ । बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले पनि बेपत्ता मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ ।
प्रहरीले बेलाबेलामा समस्या परेका नागरिकको उद्धार पनि गर्दै आएको छ । गत आवमा पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ । ललाइफकाइ र आफैँ पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाको सीमानाकाबाट उद्धार गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।























