वर्षमै ५३ हजारभन्दा बढीको आँखा चेक जाँच, भारतीय नागरिकको लर्को


नवलपरासी, भदौ ५ । यहाँको डा. बिनोद निता कंडेल आँखा अस्पतालले वर्षमै ५३ हजारभन्दा बढीको आँखा चेक जाँच गरेको छन ।परासीस्थित नेपाल नेत्रज्योति संघअन्तर्गत रहेको डा. विनोद निता कँडेल आँखा अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा नियमित ओपीडी सेवा, विभिन्न उपकेन्द्र, विद्यार्थी आँखा चेक जाँच कार्यक्रम र शिविरमार्फत् ५३ हजार २८ जनाको आँखाको परीक्षण गरिएको हो ।
सो अस्पतालका व्यवस्थापन अजय पाण्डेका अनुसार नेपाल र छिमेकी मुलुक भारतका गरी सो संख्याका बिरामीले आँखा चेक जाँच गरेका हुन । सो मध्ये १२ हजार ९४९ भारतीय नागरिकले ओपीडी सेवा लिएका हुन् । मुलक लगायत भारतका विभिन्न ठाउँबाट यस अस्पतालमा आँखाको शल्यक्रिया गराउन अस्पताल आउने गर्दछन । अस्पतालमा सेवा शुल्क सस्तो तथा कतिपय अवस्थामा नि:शुल्क उपचार हुने भएकाले भारतीय नागरिकको रोजाईमा परेकाले भारतीय नागरिकको लर्को लाग्ने गरेको पाण्डेले बताए ।
वि.स.२०४५ सालमा स्थापना भएको यो आँखा अस्पतालले गुणस्तर पक्षलाई ध्यान दिएको पाण्डे दाबी दाबी गर्छन् । गत वर्ष पनि अस्पतालमा ३७ हजार ६ सय ३२ जना सेवाग्राहीले ओपीडीबाट सेवा लिएका थिए । यस बाहेक अस्पतालअन्तर्गत सञ्चालित चार वटा उपकेन्द्रहरू सुनवल, सरावल, प्रतापपुर र सुस्तामार्फत् २ हजार ६२९ जनाले सेवा लिएका छन् । यस्तै, विभिन्न स्थानमा सञ्चालित नि:शुल्क शिविरहरूबाट ५ हजार ५८८ जनाको आँखाको परीक्षण गरिनुका साथै १ हजार ४०० जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ ।
सो अस्पतालले विद्यालय केन्द्रित विद्यार्थी आँखा चेक जाँच कार्यक्रमअन्तर्गत ७ हजार ३४६ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ भने परीक्षणपछि ३७० जना विद्यार्थीलाई नि:शुल्क चस्मा वितरण गरिएको जनाएको छ । अस्पतालमार्फत् १ हजार ४८९ जनाको मेजर शल्यक्रिया र ६७ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले नवलपुर टुडेलाई जानकारी दिएको छ ।























