बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा


म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएको छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए ।
“पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”
विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो ।
तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।
चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ ।
भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।























