श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत हो : उपराष्ट्रपति यादव

रासस
२०८२ साउन ३१ | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा उनले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा रहेको बताए ।
श्रीकृष्णको जीवनकथा सङ्गीत, नृत्य, चित्रकला र साहित्यमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले श्रीकृष्णको बाँसुरीको धुनलाई प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीकका रूपमा व्याख्या गरे । उनले श्रीकृष्णलाई सत्य, प्रेम, करुणा र दायित्वबोधका प्रतिविम्बका रूपमा चित्रण गर्दै उनको जीवनले व्यवहारमा उतार्नुपर्ने नैतिक मूल्यहरू बोकेको बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
‘श्रीकृष्णको कर्मयोगको दर्शनले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्रहरू प्रदान गर्दछ’, उनले भने- ‘यी सूत्रहरू आत्मसात गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि, नैतिक पुनर्जागरण र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ ।’ उपराष्ट्रपति यादवले ब्रह्माकुमारी संस्थाले स्थापनादेखि नै नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने कार्यमा योगदान दिँदै आएकोमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।


















