नवलपुरमा श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसपर्मण


नवलपुर । नवलपुरमा एक व्यक्तिले चक्कुु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ उदयटारी निवासी ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादमा आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेका हुन् ।आज (शुक्रबार) विहान साढे १० बजेतिर उनले तरकारी काट्ने चक्कुले श्रीमतीको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । हत्यामा संलग्न श्रीमान महेन्द्र पौडेललाई चक्कुसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए। घटनास्थल अस्थायी प्रहरी चौकी सर्दीबाट २ किमी पुर्वमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेका कारण हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ । मृतक गोमा ग्रिन फाउण्डेशन नेपाल नवलपुरकी जिल्ला उपाध्यक्ष हुन् ।


















