सदन बहिष्कारलाई निरन्तरता दिने राप्रपा र रास्वपाका सांसदको घोषणा

रासस
२०८२ साउन २९ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ, साउन २९ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सदन बहिष्कारलाई निरन्तरता दिने बताउनुभएको छ । उहाँले अनियमितता रोक्न न्यायिक समिति गठन नभएसम्म संसद् बहिष्कारलाई निरन्तरता दिने बताउनुभयो ।
आज पनि राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक छाडेर बाहिरिनुभएको छ । बैठक बहिष्कार गर्नुअघि राप्रपाका सांसद प्रधानले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताका आधार दिनुभएको राजीनामा सकारात्मक सन्देश भएको बताउनुभयो ।
रास्वपाकी सांसद चन्दा कार्कीले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेविरुद्ध दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो । “अदालतको फैसला सरकारले जिम्मा लिन नसक्ने उचित होइन । राज्यले हस्तक्षेप गरेपछि स्वतन्त्र न्यायपालिका कसरी हुन सक्छ रु म सदनमार्फत ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।
सांसद कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेर आर्थिक पारदर्शिता कायम गर्नुपर्ने बताउँदै जनताको जनभावनाको सबैले कदर गर्नुपर्नेमा जोड दिनुभयो ।























