अपराध

चक्रे मिलन ३० हजार धरौटीमा छुटे

नवलपुर टुडे
२०८२ साउन २८ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं, साउन २८ । चक्रे मिलन भन्ने मिलन गुरुङ ३० हजार धरौटीमा छुटेका छन्। प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार चक्रे मिलनसहित १९ जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।

गोरखाका ५४ वर्षीय गुरुङसँगै बाँकेका गणेशबहादुर बोगटी, काठमाडौँका निराजन पौडेल, रोशन सुवेदी, सन्दीप केसी, भक्तपुरका रोजेश खड्का, राहुल खड्का, चितवनका यामु पौडेल, ललितपुरका सौरव सुनार, बाग्लुङका डिल्लीराज कँडेलविरुद्ध मुद्दा दायर भएको थियो।

यस्तै मकवानपुरका रितिक थापा, काठमाडौँका चन्द्रदेव कार्की, जीतबहादुर लामा, सिन्धुपाल्चोकका आकाश गोले, ओखलढुंगाका अमीर आले मगर, ललितपुरका उत्तम महर्जन, सुनसरीका प्रनिश कट्टेल, स्याङ्जाका राजु परियार र सफल भन्ने सुजल शाहीविरुद्ध अभियोग पत्र दायर भएको थियो।

उनीहरूले काठमाडौँको चक्रपथस्थित होटल साम्बालामा चक्रे मिलनको जन्मदिन मनाउँदा स्थानीयलाई त्रसित हुने गरी गतिविधि गरेको आरोप थियो। सडकमै सवारी साधान रोकेर आवतजावतमा अवरोध गरेको, गाडीमा हरेलु हतियार बोकेको र समूह बनाइ होहल्ला गरी सर्वसाधारण नागरिकलाई डर धाक धम्की दिएको आरोप पनि थियो।

पहिलो पटक अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्ने भएपनि चक्रे मिलनसहितका प्रतिवादीहरूले पटक-पटक यस्ता कसुर गरेकाले मुद्दा अदालत पुगेको थियो।

 

 

कमेन्टहरु