तस्कर, भ्रष्टाचार, लुम्बिनी प्रदेश

रुपन्देहीमा भन्सार छली सामान ल्याउन सहजीकरण गरिदिने भन्दै १५ हजार घुस लिदै गर्दा सशस्त्र प्रहरी जवान पक्राउ

नवलपुर टुडे
२०८२ साउन २६ | मध्यान्ह ०९:०४ बजे

बुटवल, श्रावण २६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सशस्त्र प्रहरी बलका एक जवानलाई १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट, मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेका छन्।

भारतबाट भन्सार छली गरी अवैध रूपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरि दिए बापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, खत्रीले सीमापारिबाट अवैध सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना तथा उजुरी आयोगमा परेको थियो।

सोही उजुरीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले निगरानी बढाएको थियो। सोमबार जवान खत्रीले सेवाग्राहीबाट पन्ध्र हजार घुस लिइसकेको अवस्थामा टोलीले उनलाई उक्त रकमसहित कोटहीमाई गाउँपालिकाबाटै नियन्त्रणमा लिएको हो। पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ ।

कमेन्टहरु