आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ : गृहमन्त्री लेखक


काठमाडौँ, साउन २६ । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधनअघि बढाइएको बताउनुभएको छ ।
त्यसैगरी, अङ्गीकृत नेपाली नागरिकता प्राप्तिसम्बन्धी व्यवस्थामा बाबुका आधारमा विदेशको नागरिकता नलिएको भन्ने नागरिकता प्राप्त गर्ने व्यक्तिले मात्र स्वघोषणा गर्ने व्यवस्था भएकामा निजको आमाले समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री लेखकले जानकारी दिनुभयो ।
“बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको छ,” लेखकले भन्नुभयो, “आमाको नामबाट नागरिकता पाउने कुरालाई हामीले अहिले सरलीकृत गरेका छौँ ।”
आमाका नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट सरकारलाई निर्देशनात्मक आदेशसमेत भएको अवस्थामा विधेयक अगाडि बढाएको मन्त्री लेखकको भनाइ थियो ।























