पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र


खोटाङ, साउन २६ । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने÷आउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् ।
साउन महिनाको अन्तिम सोमबार भएकाले हलेसी आवतजावत गर्ने तीर्थालुको सङ्ख्या पनि बढी हुने अवस्थामा च्यास्मिटारमा पहिरो जाँदा समस्या सिर्जना भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “जयराम–हलेसी सडकखण्डमा ठूलो पहिरो जाँदा धेरै तीर्थालु ‘बी’ सडकमै अलपत्र परेका छन् । उनीहरूलाई उद्धार गर्न सबै संयन्त्र परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “लगातारको वर्षा नरोकिँदा सम्भव भएको छैन । बेलुकासम्ममा पुनः सञ्चालनमा ल्याउनेगरी पहिरो हटाउने काम भइरहेको छ ।”
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण आज बिहान ८ बजेर करिब १० मिनेट जाँदा च्यास्मिटारमा पहिरो खसेको प्रहरीले जनाएको छ । च्यास्मिटारमा खसेको पहिरोले दाम्ली–डिकुवा सडकसमेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
अवरुद्ध सडक खुलाउन हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “पहिरो ठूलो छ । सडकमा थुप्रिएको ढुङ्गा, माटो तथा रुखहरू हटाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “अवरुद्ध सडक तत्कालै खुलाउन सकिने अवस्था छैन । यद्यपि, प्रयास जारी छ । यात्रा गर्नेहरूले जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।”
हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिनादिनसम्म बोलबम मेला लाग्ने गर्दछ । बोलबम मेला भर्नका लागि नेपालका सबै जिल्ला तथा भारत, चीन, भूटानलगायतका नागरिकसमेत आउने गरेका छन् ।























