पहिरोको जोखिममा पर्वत देउपुरको कोरुङ्गा गाउँ


पर्वत, श्रावण २६ । लगातार वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ। भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिंगो गाउँ जोखिममा परेको हो। यहाँ आधा दर्जन घरपरिवारको बसोबास छ। पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिब एक दशकदेखि सुरु भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्तीतर्फ पुगेको हो। अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा छन्।
पहिरोले स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा छ। पहिरोले घर क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सामान सुरक्षित स्थानमा सारिएको छ भने बस्नका लागि अस्थायी टहरा निर्माण गरिएको छ। पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिए।
केही वर्षदेखि सुरु भएको पहिरो रोकथामका लागि आवश्यक पहल नहुँदा बर्सेनि जोखिम बढ्दै गएको स्थानीयले गुनासो गरेका छन्। पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्ती दुर्घटनामा पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
गत वर्ष सोही पहिरोले गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो। पातीचौर–देउपुर–लप्सीवोट सडकको कोरुङ्गा खण्डको झन्डै दुई किलोमिटर पक्की सडक क्षतिग्रस्त भएको छ। यस वर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध छ।
गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक अवरुद्ध भएपछि स्थानीयले सास्ती बेहोर्नुपरेको छ। अन्य वैकल्पिक सडकको मर्मत नहुँदा आवतजावतमा समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिए। विकल्पका रूपमा रहेको बेतेनी–गौँडा–टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले बताए। नयाँपुल–मख–ठूली पोखरी सडक पनि ठाउँठाउँमा पहिरो गएर क्षतिग्रस्त छ।
वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित रूपमा सडक निर्माण र ढल निकासको राम्रो व्यवस्था नहुँदा ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन्। वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन्।























