गाजामा इजरायली आक्रमणबाट अल जजिराका चार पत्रकारको मृत्यु

एजेन्सी
२०८२ साउन २६ | बिहान ०६:०४ बजे

काठमाडौँ । गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ। मृतकमा संवाददाता अनस अल- शरीफ, मोहम्मद कुरैकेह र क्यामेरा सहायक इब्राहिम जाहेर तथा मोहम्मद नुफाल छन्।
अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो।
आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको एक आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरेको छ, तर अल जजिराले यसलाई असत्य र पत्रकारमाथि लक्षित ‘उत्तेजना अभियान’को हिस्सा भएको जनाएको छ।
अनस अल–शरीफ आक्रमण हुनुअघि सामाजिक सञ्जालमा गाजा सिटीमा भइरहेको भीषण बमबारीको बारेमा लेखिरहेका थिए।
अक्टोबर २०२३ देखि गाजामा सुरु भएको इजरायली सैन्य कारबाहीमा अहिलेसम्म १८६ पत्रकारको मृत्यु भएको ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ का तथ्याङ्कमा उल्लेख छ।























