भरतपुर महानगर कमिटीले जित्यो राष्ट्रिय युवा संघ कपको उपाधि


भरतपुर । राष्ट्रिय युवा संघ नेपाल कपको उपाधि भरतपुर महानगर कमिटीले जितेको छ । आज (शुक्रबार) भएको उपाधि भिडन्तमा कालिका नगर कमिटीलाई हराउँदै भरतपुर च्याम्पियन बनेको हो ।
कृष्णपुरको मैदानमा भएको खेलमा भरतपुर टाइब्रेकरमा ४-२ ले विजयी भयो । त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा भरतपुर ४-२ ले विजयी भयो । भरतपुरका गोलकिपर मनोज गुरुङ प्लेयर अफ दि म्याच भए ।
उपाधि विजेता भरतपुरले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता कालिकाले ५० हजारमा चित्त बुझाएको छ । भरतपुरका गोलकिपर मनोज गुरुङ प्लेयर अफ दि सिरिज भए । उनले ६ हजार रुपैयाँ प्राप्त गरे।
यस्तै भरतपुरकै समिर श्रेष्ठ उत्कृष्ट स्ट्राईकर, कालिकाका सौजन खड्का उत्कृष्ट डिफेन्डर तथा कालिकाकै अमन तामाङ उत्कृष्ट गोलरक्षक बने । उनीहरुले जनही ३-३ हजार प्राप्त गरे । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी थिए ।























