मधेश प्रदेश

मिथिलामा राखी पर्वको रौनक, दाजुभाइ-दिदीबहिनीबिच प्रेम र सद्भाव

रासस
२०८२ साउन २४ | बिहान ०७:०४ बजे

चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबिच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ। पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ। पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै केही दिन पहिलेदेखि राखीमय बनेको छ। पर्वले आज बिहानदेखि बजारको चहलपहल निकै बढेको छ।

मुख्यत: साउन मध्यदेखि भइरहेको पछिल्लो बर्सातले पर्वमा हाँसीखुसी छाएको छ। ढिलै भए पनि मुख्य बाली धान रोप्दै राखी मनाउन पाउनुले यसलाई मैथिलले पर्वको सुलक्षण भएको बताएका छन्। ‘यसपालि लामो खडेरी पर्‍यो, समयमा बाली लगाउन नपाएको चिन्ता थियो, साउन शुक्लपक्षले राहत नै दियो,’ जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय भन्छन्, ‘यो साउने पूर्णिमाको सुलक्षण हुनुपर्छ। यो साउन शुक्लपक्षको वर्षाले पर्व रमाइलो बनाएको छ।’ ‘खेतीपातीका काम राम्ररी नचल्दा चाडपर्व निरस हुन्छन्,’ राय भन्छन्, ‘राखी पर्व पछिल्लो वर्षाले खुसीसाथ मनाउने अवसर दिएको छ।’

राखी पर्वले केही दिन पहिलेदेखि बजारमा चहलपहल बढेको छ। जता हेर्‍यो रंगीचंगी ‘राखी’ सजाएर बेच्न राखिएका छन्। पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रंगका रक्षासूत्र (राखी) किन्न केही दिन पहिलेदेखि यस्ता पसल अगाडि मिथिलानी (मिथिलाका नारी) को जमघट देखिँदै आएको छ। राखीसँगै पर्वमा दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारको जोहोमा मिथिलानी छन्। यसले आज बिहानदेखि मिठाई पसलमा भीडभाड देखिएको छ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन्। मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन्। अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिन्छन्। साना नानीहरूका लागि पर्वको तयारीमा घरका अभिभावकले सहयोग गरिरहेका छन्।

मिथिलाका सबै क्षेत्रमा दाजुभाइ-दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन्। मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अंग नै बनेको छ। हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा समान रूपले लोकप्रिय बनेको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (बोलीचालीमा गुरुकुल) का प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन्।

पर्वमा दिदीबहिनीले राखी बाँधेर मिष्ठान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्र, आभूषण र नगद दक्षिणा चेलीलाई दिने गर्छन्। हिन्दू परम्पराको रक्षाबन्धन पर्वकै एक अंगका रूपमा राखी स्थापित भएको यहाँका बुद्धिजीवी बताउँछन्। रक्षाबन्धन पर्वमा गुरु-पुरोहितले अभिमन्त्रित डोरा शिष्य र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ। यद्यपि पर्वको मुख्य आकर्षण भने दिदीबहिनीले बाँधिदिने राखीकै हुने गरेको एकडारा गाउँपालिकाको बगेया बस्तीका २५ वर्षीय युवा दीपक पाण्डेयको भनाइ छ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति रहेका दानवराज बलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ। त्यसैसँग जोडिएको अर्को प्रसंगमा बलिका बहिनीहरू गंगा र यमुनाले युद्धमा जानअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ। 

कमेन्टहरु