घारमा सुलसुलेको सङ्क्रमणले मौरी मर्न थाले


चितवन, साउन २३ ।पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो । रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो । उहाँले भन्नुभयो, “मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन् ।” अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उहाँले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताउनुभयो ।
जिल्लामा यो समस्या हरेक वर्ष देखिने गरेको जनाउँदै मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख अमगाईंले मौरीमा सुलसुलेको सङ्क्रमण र लक्षण देखिने वित्तिकै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । यो सङ्क्रमण नाङ्गो आँखाले देख्न नसकिने भएकाले अरु मौरीमा सर्न नदिनका लागि सङ्क्रमित मौरीलाई छुट्टै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
हाल चितवनमा करिब ५५० मौरीपालक कृषकहरूले १६ हजार ५०० भन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन् । यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने प्रमुख अमगाईंले बताउनुभयो । उहाँका अनुसार जिल्लामा वार्षिक रूपमा ५७० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक पालन हुँदै आएको उहाँले जानकारी दिनुभयो























