गत वर्ष जापानमा जन्मभन्दा मृत्यु करिब दश लाखले बढी


काठमाडौं, साउन २३ । जापानमा जनसंख्या तीव्र रूपमा घट्दै गइरहेको नयाँ तथ्यांकमा देखिएको छ । यसले त्यहाँको अर्थतन्त्रमा भयावह असर पारेको बताइएको छ । गत वर्ष जापानमा जन्मभन्दा करिब दश लाखभन्दा बढी मृत्यु दर्ता गरिएको बीबीसीले जनाएको छ । यो सन् १९६८ मा सरकारी सर्वेक्षण सुरु भएयता जनसंख्याको सबैभन्दा तीव्र रूपमा आएको कमी हो । प्रधानमन्त्री शिगेरु इशिबाले जापानको बुढ्यौली जनसंख्याको जनसांख्यिक संकटलाई मौन आपतकालको रूपमा वर्णन गरेका छन् । निःशुल्क बाल हेरचाह र लचिलो कार्य समयजस्ता परिवारमैत्री नीतिहरूको प्रतिबद्धता जनाएका छन् ।
तर, जापानी महिलाहरूमा निरन्तर कम जन्मदरलाई उल्टाउने प्रयासहरू अहिलेसम्म खासै प्रभावकारी दिखिएको छैन । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बुधबार सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार सन् २०२४ मा जापानी नागरिकको संख्या नौ लाख आठ हजार ५७४ ले घटेको छ । जापानमा गत वर्ष जम्मा ६ आख ८६ हजार ६१ जना बालबालिका जन्मिए । यो सन् १८९९ मा रेकर्ड सुरू भएयता सबैभन्दा कम हो । गत वर्ष करिब १६ लाख मानिसको मृत्यु भएको छ । प्रत्येक जन्मिएको शिशुको तुलनामा दुई जनाभन्दा बढीको मृत्यु भएको थियो ।
जपानमा जनसंख्या घट्दै गएको यो लागातार १६औँ वर्ष भएको बताइएको छ । यसले राष्ट्रको पेन्सन र स्वास्थ्य सेवा प्रणालीमा दबाब महसुस गरिएको छ । तथापि, १ जनवरी २०२५ सम्ममा विदेशी बासिन्दाहरूको संख्या रेकर्ड ३६ लाख पुगेको छ, जुन जापानको जनसंख्याको करिब तीन प्रतिशत हो । सरकारले डिजिटल नोम्याड भिसा र सीप वृद्धि पहलहरू सुरू गरेर विदेशी श्रमलाई अंगालेको छ । तर, जापानमा आप्रवासन अझै पनि राजनीतिक रूपमा जटिल छ ।
सन् २०२३ को तुलनामा समग्र जनसंख्या ०.४४ प्रतिशतले घटेर वर्षको सुुरुमा करिब १२४.३ मिलियन पुगेको छ । विश्व बैंकका अनुसार ६५ वर्ष र त्यसमाथिका वृद्धवृद्धाहरूले अब जनसंख्याको करिब ३० प्रतिशत हिस्सा ओगटेका छन् । यो मोनाकोपछि विश्वमा दोस्रो उच्च अनुपात हो । १५ देखि ६४ वर्ष उमेर समूहको काम गर्ने उमेरको जनसंख्या करिब ६० प्रतिशतमा झरेको छ । गत वर्ष सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार पछिल्ला दुई दशकमा करिब ४० लाख घरहरू खाली भएका छन्, जसले धेरै सहर र गाउँहरू खाली हुँदै गएका छन् ।
सरकारले वर्षौंदेखि आवास अनुदानदेखि निःशुल्क अभिभावकीय बिदासम्मका प्रोत्साहनहरूसहित जन्मदर बढाउने प्रयास गरेको छ । तर, सांस्कृतिक र आर्थिक अवरोधहरू कायमै छन् । बीबीसी























