उच्चस्तरीय विषगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

रासस
२०८२ साउन २२ | मध्यान्ह ०३:०४ बजे

तुर्कमेनिस्तान, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले समता, समावेशीकरण र साझा प्रगतिका लागि अपरिहार्य आवश्यकताका रुपमा रहेका पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै कुनै पनि राष्ट्र यी सवालमा पछाडि नपर्ने गरी सुन्दर भविष्य निर्माणका लागि आह्वान गर्नुभयो ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनसँग सम्बन्धित कार्यक्रम आज सकिदैँछ ।























