खोक्सिकमा विद्युतीकरण: ९५% नागरिकको घरमा बत्ती


भोजपुर । जिल्लाको विकट मानिने रामप्रसादराई गाउँपालिका–८, खोक्सिकका ९५ प्रतिशत घरधुरीमा केन्द्रीय विद्युत् विस्तार भएको छ। वडाध्यक्ष बाचकुमार राईको सक्रियतामा शून्यबाट सुरु गरिएको विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ।
वडाध्यक्ष राईले यसै आर्थिक वर्षमा बाँकी रहेका ५ प्रतिशत घरमा पनि विद्युत् पुर्याएर ‘उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य रहेको बताए।
विद्युत् सेवा विस्तार भएपछि स्थानीयहरू टुकी र सोलारको भरमा रात काट्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। स्थानीयवासी दिलकुमार योगीले विद्युत् आउँदा कुटानी-पिसानीजस्ता दैनिक काममा सहज भएको बताए।
अर्का स्थानीय दलबहादुर राईले विद्युत्ले सूचना र प्रविधिको पहुँच विस्तार गरेको भन्दै गाउँमै बसेर देश-विदेशका खबर लिन सक्ने अवस्था बनेकोमा खुसी व्यक्त गरे।
विद्युत्को पहुँचले बालबालिकाको पठनपाठनमा समेत सहजता भएको उनको भनाइ छ।























