कविता शिर्षक: खिरको स्वाद, सन्तानको माया


साउन पन्ध्र — नेपाली मनको चुल्होमा उब्लिने
चामल, दूध र मिठासको एक विशेष दिन ।
यो केवल दूध-चामल उमालेर पकाइएको मिठो परिकार होइन,
यो हो — सम्झनाको स्वाद, स्नेहको सुगन्ध, आशाको मिठास ।
बिहानैबाट आमाको हात, बुहारीको माया, छोरीको सम्झना,
अनि
“छोरी बढलीन, कमाई गर्लिन, दुध भात देलिन मलाई” भन्ने अभिलाषा
खिरको हर थालमा मिसिएको हुन्छ ।
खीर — आयुर्वेदिक ज्ञानले भन्छ, ‘क्षीर’
अर्थात् दूधबाट जन्मिएको,
पौष्टिकता, शक्ति र रोग प्रतिरोधात्मक क्षमता दिने आहार ।
क्याल्सियम, प्रोटिन, आइरन र मिठासले भरिएको
एकथरी आत्मीय उपचार जस्तै लाग्छ,
जसले वृद्धलाई जीवनको उमंग दिन्छ,
बालकलाई स्नेहको स्पर्श ।
तर, आजभोलि खीरको स्वादमा देखिन्छ परम्परा भन्दा प्रदर्शन,
चिनीको मात्रा बढाएर स्वास्थ्य जोखिमको डोबमा खस्ने प्रवृत्ति,
बजारमा मिल्क पाउडर, केमिकल फ्लेभर, कृत्रिम मात्रा मिसाएर
खीरलाई ‘फास्ट फुड’ बनाउने लोभ र लापरवाही ।
कहाँ हरायो त्यो गाउँको घिउको सुवास,
नयाँ दूधको घाममा ततिएको स्वाद?
कसरी हरायो त्यो सासुको हातबाट बुहारीले सिकेको सामिप्य?
समीक्षा चाहिन्छ — खीर परिकारमा देखिएको विकृति विरुद्ध ।
शुद्ध सामग्रीको प्रयोग होस्,
घरमै पकाउने परम्परा जोगियोस्,
बजारको चमकमा होइन, मनको ममतामा खीर बग्न सकोस् ।
सन्देश दिनुपर्छ — खीर खाने दिन पैसा होइन,
परम्परा, प्रेम र पोषण हो ।
कविता जस्तै — मिठास पनि होस्, मार्मिकता पनि होस् ।
यस साउन १५ मा खीरले जोडोस् परिवार,
झल्कियोस् आत्मीयता र सम्झनाको उज्यालो
एकछिनको मिठास, जीवनभरको माया ।


















