बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा यात्रुहरूलाई सास्ती


बाजुरा, साउन १४ । बाजुराको मार्तडी–कोल्टी सडक पहिरोका कारण असार महिनाको दोस्रो सातादेखि अवरुद्ध भएको छ । लगातारको वर्षाले बाउली खोलामा पानीको बहाव बढे संगै जिल्ली र र रजतोली सडकको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको छ ।
जिल्ली र रतातोली क्षेत्रमा माथिबाट खसेको पहिरोले सडक भत्किँदा सवारी आवागमन ठप्प भएको हो । स्थानीय बासिन्दा बम बहादुर सिंहका अनुसार, जिल्लाको मुख्य व्यापारिक केन्द्र मार्तडी र स्वास्थ्य सेवाको पहुँचको मुख्य माध्यम कोल्टी विमानस्थल जोड्ने यो सडक खण्ड बन्द हुँदा दैनिक यात्रुहरु र बिरामी समस्यामा परेका छन् ।
“पहिरोले सडक कतै पुरिएको छ त कतै बगेको छ, स्थानीयलाई हिँड्नसमेत मुस्किल भएको छ । कुडा क्षेत्रका बुढिनन्दा नगरपालिका, हिमाली , स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका सहित मुगु र हुम्ला मान्छेलाई समेत आवतजावत गर्न कष्टकर भएको छ ।
केही हप्ता देखि सडकको अवस्था अत्यन्तै खराब भएको जिप चालक सुबास मल्लले बताए । उनका अनुसार, पहिरो र सडक कटानका कारण यात्रुलाई ठाउँ–ठाउँमा झारेर गाडी फिर्ता गर्नुपर्ने बाध्यता रहेको छ । “एउटै यात्रामा तीन–तीन ठाउँमा गाडी फेरबदल गर्नुपर्छ, यात्रुहरू धेरै हैरान छन्,” मल्लले गुनासो गरेका छन ।
मार्तडीदेखि कोल्टी जान सामान्य अवस्थामा दुई घण्टा लाग्ने भए पनि अहिले चारदेखि पाँच घण्टासम्म समय लाग्ने यात्रुहरूको गुनासो गरेका छन । त्यसमाथि चिसो, वर्षा र पहिरोका कारण जोखिम समेत बढेको यात्रुहरू बताउँछन् ।
स्थानीयहरूका अनुसार सडक मर्मतका लागि सम्बन्धित निकायले हालसम्म कुनै पहल नगरेको गुनासो छ । सडक यथाशीघ्र सञ्चालनमा ल्याउन माग गर्दै स्थानीय सरकार र निर्माण व्यवसायीहरूलाई दबाब दिन थालिएको छ ।
सडक अवरुद्ध हुँदा खाद्यान्न, इन्धन तथा औषधिजस्ता अत्यावश्यक सामग्री ढुवानीसमेत प्रभावित भएको छ । स्थानीयहरूले तत्काल डोजर पठाएर सडक खुलाउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।
मार्तडी कोल्टी सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । उहाँले नागरिकहरूका समस्याहरूलाई स्वीकार गर्दै सम्बन्धित निकायलाई सडक खुलाउन ताकेता गर्दै आएको बताउनुभयो । यहाँका सम्बन्धित पालिकाहरूलाई सडक सुचारु गर्न आग्रह गर्दा पनि सुनुवाइ नगर्ने गरेको बाजुरा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध हुँदा नागरिकहरूले ठुलो दुख पाएको बताउँदै सम्बन्धित पालिका र सडक पूर्वाधारलाई यसको मर्मत कार्य गरी सडक तत्काल सुचारु गर्न निर्देशन गरिएको पाध्याले बताए ।






















