गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ


चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा ४४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ । वनसम्बन्धी अपराधमा २६६ र वन्यजन्तुसम्बन्धी अपराधमा १७६ जनालाई पक्राउ गरिएको हो ।
गैँडा मुद्दामा आठ, बाघसम्बन्धी मुद्दामा एक, बँदेलका २६, पक्षीका तीन, सालकका पाँच, माछाका १२६, ढुंगागिट्टी, बालुवाका पाँच, घाँसदाउँराका १४१ र निगुरोका ८७ जनालाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगर बताए। अनुमतिविना निकुञ्जभित्र प्रवेश गर्ने २३, निकुञ्जको निषेधित क्षेत्रमा प्रवेश गर्ने ६, हिउँचितुवा कसुरमा दुई, चितुवामा पाँच र च्याउसम्बन्धी कसुरमा चारजनालाई पक्राउ गरी कारबाही गरिएको उनले जानकारी दिए।
पक्राउ परेकाविरुद्ध विभिन्न २६ वटा मुद्दा दर्ता भएका बताउँदै मगरले जिल्ला अदालतमा चारवटा र अन्य मुद्दा निकुञ्ज कार्यालयमा दर्ता भएका जानकारी दिए । अदालतमा दर्ता गरिएका मुद्दामा सालक, गैँडा, बाघसम्बन्धी रहेका छन् ।
निकुञ्जले दर्ता गरेका मुद्दामध्ये १४ वटाको फैसला गरिएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दासहित ती मुद्दा फैसला गरिएको उनले बताए। उनका अनुसार चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका २६ वटा मुद्दा रहेका छन् ।























