मातृभाषामा पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे


काठमाडौँ, श्रावण ९ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताएका छन्।
बिहीबार नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले बुझाएको अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन बुझ्दै उनले भने, ‘बहुजातीय, बहुभाषिक देशमा राज्यप्रति सबैको अपनत्व, संघीयताको प्रवर्द्धनका लागि मातृभाषामा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ। यो सम्मेलनले त्यसको भूमिकालाई उजागर गरेको छ।’
उनले सम्मेलनको निष्कर्ष, उठान गरेका बहसलाई कानुन निर्माणमा, राज्यको व्यवहारमा कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए। ‘देशीविदेशी पत्रकारहरूको सहभागितामा तपाईँहरूले सम्पन्न गर्नुभएको सम्मेलनको आफ्नै महत्त्व र विशेषता छ। यसबाट आएको निष्कर्ष कार्यान्वयन गर्न पुरा सहयोग गर्ने छु,’ उनले भने।
पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० र ३१ गते ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ सम्मेलन आयोजना गरेको थियो। सो सम्मेलनमा बंगलादेश, भारतका विभिन्न प्रान्त र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो। सम्मेलनले समावेशी पत्रकारिताको विकास, समग्र पत्रकारिताको विकासमा मातृभाषा पत्रकारिताको महत्व र आवश्यकतासम्बन्धी विविध निष्कर्ष निकालेको थियो।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर तथा सदस्यद्वय पूर्णभक्त दुवाल र विकास मालीलगायत सहभागी थिए। नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरू गरेको एक सय वर्ष पुगेको उपलक्ष्यमा पत्रकार राष्ट्रिय दबूले सम्मेलन गरेको थियो।
समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासका लागि नेवाः पत्रकार राष्ट्रिय दबूले १३ वर्षदेखि निरन्तर वकालत गर्दै आएको छ।























