दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ३ पुग्यो

उमेश रोकाया
२०८२ साउन ८ | मध्यान्ह ०१:०४ बजे

बाजुरा , साउन ८ ।  हिमाली गाउँपालिका-५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

‎जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार सोही गाउँपालिकाको क्युडीबाट वडा नम्बर ५ को वडा कार्यालय कवाडी आउने क्रममा  जीप दुर्घटना भएको बताए ।

‎जीपको क्षमता भन्दा बढी यात्रु सवार रहेको र सडक कच्चीका कारण जीप अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरी निरिक्षक चौधरीले बताएका छन् । जीपमा सवार भएका १९ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । जीप दुर्घटनामा परी मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीय बाँचकला रोकायाको रहेकी छन्। जीप दुर्घटनामा परेका १३ जनाको अवस्था गम्भीर रहेको छ । भने तीन जनाको अवस्था समान्य रहेको छ ।

‎उनीहरुको उद्धारका लागि हिमाली गाउँपालिकाको एम्ब्लेन्स र स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरको पहल प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाजुराबाट जीप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई सेनाको हेलिकप्टर मार्फत उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइ सकेको पाध्याले बताए । घाइतेको क्युडीको टुनीगडामा हिमाली गाउँपालिकाको स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् ।

कमेन्टहरु