जापानी प्रधानमन्त्री इशिबा अल्पमतमा, माथिल्लो सदनको निर्वाचनमा सत्तारूढ गठबन्धनको हार


काठमाडौं । जापानमा प्रधानमन्त्री शिगेरु इशिबा नेतृत्वको सत्तारूढ गठबन्धनले संसदको माथिल्लो सदनमा बहुमत हासिल गर्न असफल भएको छ ।
यसले जापानमा राजनीतिक अस्थिरताको संकेत देखिएको छ । यो हार इशिबा गठबन्धनका लागि अर्को झट्का भएको समाचार संस्था एफपीले जनाएको छ ।
तल्लो सदनमा प्रधानमन्त्री इशिबा यसअघि नै हारिसकेका छन् ।
सन् १९५५ पछि पहिलोपटक सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले संसद्का दुवै सदनमा बहुमत गुमाएको हो ।
जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेमा प्रसारित समाचारअनुसार प्रधानमन्त्री शिगेरु इशिबाको सत्तारूढ गठबन्धनले २४८ सिट भएको माथिल्लो सदनमा बहुमत हासिल गर्न सकेन ।
बहुमतका लागि इशिबाको एलडीपीले पहिल्यै रहेका ७५ सिटबाहेक थप ५० सिट जित्नुपर्ने थियो । तर, गठबन्धनले ४६ सिट मात्र प्राप्त गर्यो ।
आइतबार संसद्को माथिल्लो सदनका २४८ सिटमध्ये १२५ सिटका लागि मतदान भएको थियो ।
अल्पमतमा रहेका कारण अब एलडीपीभित्रै इशिबालाई हटाउने माग तीव्र हुनसक्ने विज्ञहरूको भनाइ छ ।
विश्वको चौथो ठूलो अर्थतन्त्रमा विश्वको ध्यान प्रधानमन्त्री इशिबाको अल्पमत सरकार ढल्छ वा ढल्दैन भन्नेतर्फ जाँदा यसले उनमाथिको दबाब बढाउने बताइएको छ ।
अमेरिकासँग ट्यारिफको समयसीमा पनि नजिकिँदै छ । यही कारणले विश्वको चौथो ठूलो अर्थतन्त्रमा सबैको ध्यान केन्द्रित भएको छ ।
अक्टोबरमा तल्लो सदनको निर्वाचनमा हारपछि जापानको वर्तमान सरकार संसद्का दुवै सदनमा अल्पमतमा परेको थियो । जनाधार घट्दा जापानमा राजनीतिक अस्थिरता बढ्ने खतरा छ ।
निर्वाचनमा हार भए पनि प्रधानमन्त्री इशिबाले आफू पदमा रहने र देशका लागि काम गर्ने बताएका छन् ।
उनले भने, “म पहिलो नम्बरको पार्टीको नेताको रूपमा मेरो जिम्मेवारी पूरा गर्नेछु र देशका लागि काम गर्नेछु ।”
प्रधानमन्त्री इशिबाले समर्थन गुमाउनुको कारण निर्वाचनमा बढ्दो महँगी र घट्दो आय प्रमुख मुद्दा बनेका बताइएको छ । मतदाताहरूले सामाजिक सुरक्षा भुक्तानीको बोझ, निराशा, नगदको कमी, विदेशी बासिन्दा र पर्यटकहरूका लागि कडा कदमका मुद्दाहरू उठाएका छन् ।
चामलको मूल्य आपूर्तिको कमी र वितरण प्रणालीको जटिलताका कारण दोब्बर भएको छ । यसले बजारमा आतंकित खरिद देखिएको छ । यो मुद्दामा एक कृषिमन्त्रीले राजीनामा दिनुपर्यो, त्यसपछि शिन्जिरो कोइजुमीलाई नियुक्त गरिएको छ । उनले भण्डारणबाट चामल निकालेर अवस्था सम्हाल्ने प्रयास गरेका छन्, तर प्रभाव सीमित छ । एपी























