मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हराउँदै मौलिक घर: जस्तापाताले विस्थापित


बाजुरा , साउन ४ । बाजुरा जिल्लाका अधिकासं घरहरू रातोमाटो र सेतो कमिरोले पोतिएका घर कतै ढुङ्गाले बान्नो मिलाएर छाएको छानो त कतै खरले छाइएका घर अहिले जस्तापाताले विस्थापित हुँदै आएका छन । ढुङ्गाकै गारो र काठले मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो । अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् ।
घरका झ्यालढोकामा कलात्मक शैलीमा बनाइएका आकृति भेटिनै छाडिसके । पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै आधुनिक घर धमाधम बनिरहेका छन् । बाजुराका अधिकांश गाउँमा ढुङ्गा, काठ र माटोका घर छन् । एक दशक अगाडिसम्म गाउँका धेरै घर खर र ढुङ्गाको पत्थर छोएको घर अहिले भेट्टाउनै मुस्किल पर्छ ।
हिमाली गाउँपालिका – ६ धिम गाउँमा दुई दशक अगाडिसम्म ढुङ्गाको पर्खाल र खरले छाएका घर मात्रै थिए । अहिले ४० प्रतिशत घरहरू मात्र भेट्टाउन सकिन्छ । ढुङ्गाबाट बनेका घर विस्थापित बनेपछि विस्तारै ढुङ्गा र खरका घर बने । अहिले ती ढुङ्गा र खरका घर पनि विस्थापित हुँदै गएका छन् । अहिले हिमाली गाउँपालिकाको ठुलो गाउँ धिममा जस्तापातले छाएका घरले गाउँ नै ढाकिन थालेका छन् । जस्तापाताका घर बनाउन स्थानीयवासीलाई सहज भए पनि गाउँको सुन्दरतामा भने धेरै प्रभाव पारिरहेको हिमाली गाउँपालिका – ६ धिम गाउँका डब्बल मल्लले बताउनुभयो ।
धिम गाउँ सँगै बुढिनन्दा नगरपालिका , स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका सहित जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापात कंक्रिटले छाइएका घर निर्माण भएका छन् । पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुङ्गाले छाएका घर अहिले जस्तापाता तथा कङ्क्रिटबाट बनेका घरमा परिणत भइरहेका छन् ।
गाउँमा मौलिक ढुङ्गे तथा खरका घर बनाउन बढी झन्झटिलो हुने हुँदा पछिल्लो समय स्थानीयले जस्तापाताका घर बनाउन लागेको हिमाली गाउँपालिका – ६ गाउँका वृद्ध रन्त रावतले बताउनुभयो । उहाँले २०/२५ वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने घरहरू परिवर्तन आएको बताउनुभयो ।
अहिले गाउँ र बजारका घरमा धेरै फकर पाइँदैन गाउँमा पनि बजारकै निर्माण कार्यमा घर बन्न थालेका छन । सबै घरहरू आधुनिकतासँग जोडिएका छन् । मौलिकता बोकेका घर विस्तारै हराउँदै गएको छ । पहिले यहाँ ढुङ्गाले र खरको घर थिए पछि ढुङ्गा, घर र खरका घर बने, अहिले धेरैले टिन जस्तापाताले छाउन थालेका छन ।























