एनआरएनए कतारले आफ्नै पोर्टलबाट निर्वाचन गरेमा आईसीसी रेकर्डमा नहरने अभियान्ताहरुको दाबी


रामएकबाल राम
दोहा कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आफ्नै पोर्टलबाट निर्वाचन गरेमा आईसीसी रेकर्डमा नहरने अभियान्ताहरुको दाबी गरेका छन।
मङ्गालबार राति दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बद्री केसी समूहबाट आधिकारिता प्राप्त अधिवेशन समितिका संयोजक केशव कार्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान्ताहरुले यस्तो बताएका हुन।
कतारमा रहेको एनआरएनए एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन समितिका संयोजक तोकेको थियो ।
जिम्मेवारी बहन गर्दै अहिलेसम्मका गतिविधिबारे जानकारी दिनका लागि गरिएको पत्रकार सम्मेलनमा वक्ताहरूले गन्तव्य एउटै भए पनि फरक–फरक आचरण र विचारका कारण असहमति जनाएका समूहलाई घोचपेच र पत्रकारहरूसँगको चरम असन्तुष्टि पनि पोखेका थिए ।
सम्मेलनमा एनआरएनए अभियन्ता कमलमणि गुरागाईँले एनसीसी कतारले मे २३ को परिषद् भेला जुन २७ सम्ममा सबैसँग सहमति कायम गरी सम्पन्न गर्ने गरी स्थगित गरेपछि सरोकारवालासँग छलफल घनिभूत रूपमा गर्नुपर्नेमा जुन २४ मा एनसीसीको बैठक जुम भर्चुअलमा बसी उल्टै परिषद् भेला जुन २७ भित्रमा गरिनुपर्नेमा जुलाई ४ मा सार्ने त्यो पनि विस्तृत छलफल नगरी धेरै सदस्यहरूको असहमतिको बाबजुद जबरजस्ती निर्णय सुनाइएको आरोप लगाएका छन। उनको आरोप उपर पत्रकार तिलु शर्म पौडेलले कार्यसमिति सदस्य कसैले पनि यस बारेमा आवाज उठाएको नपाइएको र लिखित रूपमा कहीँ उजुरी गरेको भए प्रमाण पत्रकार सम्मेलनमा पेस गर्न अनुरोध गरेका थिए ।
जवाफमा गुरागाईँले एनआरएनए आइसीसीका उपाध्यक्ष राज रेग्मीको पहलमा उनको निवासमा २ पटकसम्म केही सराकारवालाहरुसँग छलफल गरी परिषद् सदस्यता कार्डमा अध्यक्षको हस्ताक्षर नराखी संघको छाप मात्र राख्ने, आइसीसीसँग कुनै पनि एमओयु नगर्ने, पञ्जीकृत सदस्यता शुल्क नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने र नयाँ कार्यसमितिले नै शुल्कका सम्बन्धमा निर्णय गर्ने, नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने भनी लचकता अपनाइए पनि सहमति हुन नसकेको सम्मेलनमा जानकारी दिइएको थियो ।
१८मे मा एनसीसीलाई बाइपास गरी आइसीसीमा सदस्यता प्रमाणित गर्ने अधिकार माग्नुको कारण के हो ? भनी राखिएको प्रश्नको जवाफ दिँदै गुरागाईँले आइसीसीको विधानमा उल्लेख भएको पञ्जीकृत सदस्यता शुल्क नबुझाउने भन्ने एनसीसीको निर्णय सही नभएको हुँदा २ जना राखिएको बताउँदै मुख्य गरी विश्वमा रहेका ९० देशले एमआइएस मानेको तर ५ देशले मात्र नमानेको र त्यसमध्ये कतारले एमआइएसमा नजाने भन्ने कुरा स्वीकार्य नहुने बताए।
उनले एमआइएसद्वारा पञ्जीकृत सदस्यता वितरण भइ रहेको र आइसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गर्न ११औँ अधिवेशन आयोजक समिति निर्माण गरिएको बताए । कतारले निर्माण गरेको पोर्टलबाट निर्वाचन गरेमा २३–२५ कार्यकाल आइसीसीको रेकर्डमा नरहने दाबी गर्दै आफूहरूले गर्न लागेको अधिवेशनले त्यो इतिहास जोगाउने बताए ।
कार्यक्रममा आफ्नो धारणा राख्दै एनआरएनए अभियन्ता करिम बक्स मियाले एनसीसी कतार चेन अफ कमान्डमा नचलेको जिकिर गरे । एनसीसी कतारका पुर्व अध्यक्ष मोहम्मद मुक्त्दाले भने एनआरएनए आइसीसीका कतिपय मुद्दामा पत्रकारले नलेखेको भनि हलमा रहेका पत्रकारमाथि खनिएका थिए । उनको आरोपको पत्रकार महासंघ शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठले खण्डन गरेका थिए।
नेपाली महिला समाज कतारका अध्यक्ष माया केसी, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठले कतारको नेपाली समाज अलमल र दुई धारमा बग्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै सहमतिका साथ एक एनसीसी बनाएर अगाडि बढ्न आग्रह गरे । अधिवेशन संयोजक कार्कीको सभापतित्वमा सम्पन्न सम्मेलनमा उठेका प्रश्नको जवाफ दिँदै आफू समाज एक हुनुपर्ने र मिलेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा अडिग रहेको बताए ।























