वातावरणीय योगदानका लागि ग्रीनल्याण्ड पब्लिकलाई अन्तर्राष्ट्रिय सम्मान


भरतपुर । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले योगदानका लागि अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । वातावरण संरक्षण र दिगोपनप्रति देखाएको उच्च प्रतिबद्धता र उत्कृष्ट कार्यको कदर गर्दै इटालीस्थित प्रतिष्ठित संस्था फोन्डो फोरेस्ताले इटालियानोले स्कुललाई रिकग्निसन अवार्ड प्रदान गरेको हो ।
फोन्डो फोरेस्ताले स्कुलले वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण, फोहर व्यवस्थापन लगायतका बहुपक्षीय कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरी विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिकामा संलग्न गराएको उल्लेख गरेको छ । विद्यालयले पाएको यस अन्तर्राष्ट्रिय सम्मानले शैक्षिक क्षेत्रमा वातावरण संरक्षणको विषयलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षासँगै सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरणा दिएको प्राचार्य इन्दिरा कार्कीको भनाइ छ ।
विद्यालय परिवारले यो सम्मानलाई गौरवको विषयको रुपमा लिएको उहाँको भनाइ छ । आगामी दिनमा वातावरणमैत्री अभ्यासहरूलाई अझ संस्थागत र प्रभावकारी रूपमा अघि बढाउने कार्कीले प्रतिबद्धता जनाउनुभयो ।























