घटना

रसुवा बाढी : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

नवलपुर टुडे
२०८२ असार २९ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ता भएकामध्ये ११ जना मृत भेटिएका छन् । आइतबारसम्म ११ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार, अझै १७ जना बेपत्ता छन् । खोज तथा उद्धारका लागि एकहजार ९५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भट्टका अनुसार, बाढीले २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारी बगाएको छ । बाढीले दुईवटा पुल पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् । एउटामा आंशिक क्षति पुगेको छ ।

यस्तै, स्याफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक धेरै ठाउँमा क्षति भएको छ । त्यस सडकखण्डमा ठाउँठाउँमा गरेर एकहजार २०० मिटर सडक पूर्णरूपमा क्षति भएको छ ।

“हिमताल फुटेकै हो भन्ने नजिक हाम्रो अध्ययन पुगेको छ,” भट्टले भने ।

बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा–चीनको आवतजावत पूर्णरूपमा बन्द भएको छ । न्युज एजेन्सी नेपालबाट ।

कमेन्टहरु