कृषि

तरकारी उत्पादन जमेका धर्मराज

रासस
२०८२ असार २९ | बिहान ०७:०३ बजे

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार केजी आलु फलाएका छन्। सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलु खेती सुरु गरेका धर्मराजले पहिलो वर्ष नै चार हजार केजी फलाएका हुन् ।

बाह्र वर्षअघिदेखि जिल्लामै अर्ग्यानिक तरकारी तथा फलफूल खेती गर्दै आएका धर्मराजले उत्पादन गरेको आलु प्रतिकेजी रु ४५ मा बिक्रीसमेत गर्दै आएका छन् । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलु खेती सुरु गरेका उनले तीन जना युवालाई रोजगारीसमेत दिएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘झिसेपु अर्ग्यानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लागेका धर्मराजले उत्पादन गरेको आलुमध्ये एक हजार केजी बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी गरेका छन् । उत्पादित आलुमध्ये करिब दुई हजार ८०० केजी शनिबार दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलहरूमा लगेर बिक्री गरिएको धर्मराजले जानकारी दिए ।

आफ्नै व्यक्तिगत लगानीमा व्यावसायिक आलु खेती तथा उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लागेका उनले पाँचवटा राँगा/भैँसीपालन समेत गरेका छन् । अर्ग्यानिक आलु उत्पादन गर्ने अभियानमा लागेका उनी त्यही राँगा भैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलु खेतीमा लगाउँदै आएका छन् ।

करिब ३०–४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती सुरु गरेका धर्मराजले गत माघमा ६०० केजी भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर आलु खेती सुरु गरेका थिए । कुनाखर्कमा उत्पादित अर्ग्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यावसायिक आलु खेती सुरु गरेको धर्मराजले बताए । 

करिब रु ११ लाख लगानीमा सुरु भएको आलु खेतीलाई आगामी वर्षबाट थप विस्तार गर्दै लैजाने तयारीमा रहेको उनले बताए । “पहिलो पटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु”, राईले भने, “आलुसँगै पशुपालन तथा तरकारी खेती गर्ने योजना छ । यसका लागि थप जनशक्ति खोजी गरिरहेको छु ।”

अर्ग्यानिक कृषि उपज उत्पादन अभियानमा लागेका उनले सुरुमा वडा नं ३ बाम्राङस्थित झिसेपुमा व्यावसायिक रूपमा अर्ग्यानिक फलफूल तथा तरकारी खेती गरेका थिए । करिब १५ वर्षदेखि कृषि पेसामा आबद्ध धर्मराजले झिसेपुस्थित आफ्नै जग्गामा किवी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आएका छन्।

कृषि पेसालाई आधुनिक तथा यान्त्रिकीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लागेका राईले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आएका छन् । झिसेपुको फार्म सञ्चालनका लागि धर्मराजलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् ।

पछिल्लो समय जिल्लाका अधिकांश किसानले थोरै समयमा नै धेरै आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानिकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

 

कमेन्टहरु