मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
मुहार फेर्दै कोल्टी अस्पताल


बाजुरा , असार २५ । बाजुराको बुढिनन्दा नगरपालिका – २ मा रहेको कोल्टी आधारभूत अस्पतालले पछिल्लो समय मुहार फेर्दै गएको छ । यहाँको बुढीनन्दा नगरपालिकाले पुराना तथा जीर्ण बन्दै गएका भवन मर्मत सम्भार तथा रङ्गरोगन गरेसँगै पछिल्लो समय कोल्टी आधारभूत अस्तपालको मुहार फेरिदै गएको हो ।
जिल्लाकै एकदमै दुर्गम गाउँमा सञ्चालन हुँदै आएको यो अस्पतालले अहिले यहाँका दुरदराजमा रहेका अती विकट गाउँ बस्तीका स्थानीयलाई गाउँमै राम्रो सेवा सुविधा दिदै आएको छ । यहाँका बिरामीहरुका लागि अहिले यो अस्पतालले कोल्टीमा पुगे सन्चो हुन्छ भन्ने विश्वास गर्ने गरेका छन् । केही समय पहिला यहाँका स्थानीयले गाउँमा बिरामी हुँदा सिटामोल समेत किन्न पाउँदैन थिए ।
अहिले उपचारका लागि कोल्टी अस्पतालमा आउँने गरेका गरेका बिरामीहरुले औषधी सँगै भिडियो एक्सेर ल्याबको समेत सुविधा पाउँने गरेका छन् । भौतिक पुर्वाधार रुपमा मात्र नभई अहिले कोल्टी अस्पतालले यहाँ आउने गरेका बिरामीलाई राम्रो सेवा सुविधा दिदै आएको मुगुको खत्याड गाउँपालिकाका स्थानीय रमा रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पहिला यहाँ बिरामी भएर आउँला राम्रो सँग उचार हुँदैन थियो । अहिले भने राम्रो उपचार हुन्छ ।” भिडियो एक्सेरका लागि जिल्लाको मार्तडी सदरमुकाम मार्तडीमा जानु पथ्र्यो अहिले त्यो सुविधा समेत यतै पाउँने गरेको रोकायाले बताउनुभयो ।
पहिला स्वास्थ्य चौकीको रुपमा रहेको यो अस्पताल २०६३ सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०८० बैशाख देखि कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालन गरिएको हो । बुढीनन्दा नगरपालिकाले यो स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पताल सञ्चालन गरेसँगै अहिले यहाँका अन्य हिमाली, जगनाथ, स्वामिकात्तिक, बुढीनन्दा नगरपालिका स्थानीय मात्र नभई छिमेकी जिल्ला मुगु, जुम्ला र हुम्लाबाट समेत बिरामी आउने गरेको प्रशासन सहायक इन्द्र सुनारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ बुढीनन्दा नगरपालिकाका बिरामीहरुलाई मात्र उपचार गर्न सहज भए त ठिकै थियो । यहाँ अन्य पालिका र मुगु, हुम्लाबाट समेत बिरामी धेरै आउने गरेकोले उनीहरुलाई अँझै व्यवस्थापन गर्न समस्या हुने गरेको छ ।’’ कोल्टी आधारभूत अस्पताल तीन जिल्लाका स्थानीयहरुको आशा र भरोसाको केन्द्र भएकाले यसलाई थप व्यवस्थित गर्न प्रदेश र सङ्घीय सरकारको समेत आवश्यक रहेको सुनारले बताउनुभयो ।
यता २०८० सालमा कोल्टी आधारभूत अस्पताल सञ्चालन भएपनि यहाँ कोटा अनुसारको डाक्टरको अभाव हुने गरेको कोल्टी अस्पतालका प्रमुख रञ्जित शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “ यहाँ बिरामी धेरै आउँछ । एउटाले मात्र ती सबै बिरामीहरुको उपचारमा सहज हुँदैन । दुर्गमको बिरामीहरुलाई राम्रो सेवा दिने हो भने अन्य दुइ चार जना रोग विशेज्ञ डाक्टरको समेत आवश्यक छ ।’’
यो दुर्गमका स्थानीयहरुको आशा र भरोसाको केन्द्रको रुपमा रहेको यो आधारभूत अस्पताललाई चाँडै अस्पतालको रुपमा विस्तार गरी चाहिने आश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार व्यवस्था गर्ने हो भने यहाँका स्थानीयलाई उपचारका लागि बाहिर जानु नपर्ने शाहले बताउनुयो ।























