सिद्धबाबामा पहिरोले मोटरसाइकल च्यापिँदा एकको मृत्यु, एक घाइते


बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान खण्डको सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । प्रहरी चौकी दोभान, पाल्पाका प्रहरी नायब निरीक्षक रुम केसीका अनुसार तिनाउ गाउँपालिका–३ स्थित हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले दुर्घटना गराएको हो ।
पहिरोमा लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल च्यापिँदा पाल्पाको रामपुर नगरपालिका–६, तालपोखरा निवासी ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार जनककी श्रीमती २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन् ।
मंगलबार साँझ करिब साढे ६ बजेतिर खसेको पहिरोमा परेका जनकलाई झण्डै ३५ मिटर तल भिरबाट उद्धार गरिएको थियो । घटना भएको करिब १५ देखि २० मिनेटभित्र उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएका जनकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते कल्पनाको बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण केही समय सडक अवरुद्ध बनेको थियो भने हाल पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको प्रहरी नायब निरीक्षक केसीले जानकारी दिएका छन् ।























