कृषि

मुगुमा ७० प्रतिशत धान रोपाइँ

तपेन्द्र एडी
२०८२ असार २४ | मध्यान्ह ०४:०३ बजे
छायाँनाथ रारा नगरपालिका– ४ कार्कीवडा गाउँमा धान रोपाइँ गर्दै किसान । तस्बिर : तपेन्द्र ऐडी

मुगु, असार २४  । हिमाली जिल्ला मुगुमा यस वर्ष ७० प्रतिशत खेतमा धान रोपाइँ भएको छ । जिल्लामा कुल सोह्र हजार सात सय ६३ हेक्टर खेतीयोग्य जग्गा छ । जसमध्ये पाँच सय ४४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।

जिल्लाको खत्यड गाउँपालिका, सोरु गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा पाँच सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि विकास कार्यालय मुगुले जानकारी दिएको छ । अर्थात् ७० प्रतिशत हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको हो ।

जिल्लाको चार पालिका मध्ये सबैभन्दा बढी खत्याड गाउँपालिकाका बस्तीहरुमा धान रोपाइँ भएको कृषि विकास कार्यालय मुगुका अधिकृत गणेश अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा धेरै जसो लेकाली जातको धान रोपिएको छ । जिल्लामा पहिलो पटक किसानले राम्रो नाफा लिने उद्देश्यले जाजरकोटबाट ल्याइको कालोधानको जात छायाँनाथ रारा नगरपालिका – १ देखि १४ वडासम्मका किसानलाई धान बिउ कार्यालयले वितरण गरेको छ ।

यता छायाँनाथ रारा नगरपालिका– ४ का किसान रामबहादुर रोकायाका अनुसार सरकारले हरेक वर्ष धान दिवसको नाममा मनाउने फजुल खर्चले किसानलाई उत्पादनमुखी नयाँ धानको बिउ र प्रविधि ज्ञान दिन आवश्यकता रहेको उहाँको सुझाव रहेको छ ।
यस वर्ष समयमै पानी परेकोले आकासे पानीबाट धान रोपाइँ गर्न सहज भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको धेरैजसो भूगोल भिरालो भएकाले यहाँको जमिनमा सिँचाइ गर्न कठिनाइ हुने हुँदा यहाँका जमिनमा स्थानीय जातको घैया (धोगडो) लगाउने चलन छ ।

कमेन्टहरु