विसं २०७४ मा वडा कार्यालयले ‘एक घर पाँच किवी’ का बिरुवा लगाउने अभियान सञ्चालन गरेपछि वडामा किवीखेतीको लहर चलेको थियो। किवीखेती सुरु भएको एक दशकमा वडामा करिब चार सय रोपनीमा किवीखेती विस्तार भएको छ। भकिम्ली, चिनाखेत, डाँडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए। उनको भनाइअनुसार, भकिम्लीमा अहिले कृषकहरुले पाँच हजार बढी किवीका बिरुवा लगाएका छन्।
‘किवीलाई स्थानीयले प्रमुख खेतीकै रुपमा अघि बढाएका छन्, वडा र नगरपालिकामार्फत किसानलाई किवीका बिरुवा, पोल, तार र सिँचाइमा अनुदान उपलब्ध हुँदै आएको छ, खेतीयोग्य जमिनमा खाद्यबालीको विकल्पमा किवीखेती विस्तार गर्ने अभियान नै चलेको छ,’ वडाध्यक्ष पुनले भने। वडाभित्र सामूहिक र व्यक्तिगत रुपमा फर्म दर्ता गरेर किसानहरु गाउँलाई किवी गाउँको रुपमा विकास गर्ने प्रयासमा लागि परेका छन्।
भकिम्लीमा बेलढुङ्गा किसान समूहले मात्रै एक हजार दुई सय वटा किवीका बोट लगाएको छ। किवीखेतीको अगुवा किसानको रुपमा परिचित लालबहादुर पुनले तीन सय, लक्षु पुनले दुई सय ५०, लालबहादुर घर्तीले दुई सय ५० बोट किवी लगाएका छन्। गाउँका युवाहरुले परम्परागत कोदो, मकै फल्ने बारीमा समेत किवीखेती सुरु गरेका छन्। वडामा हाल ५० भन्दा बढी किसान किवीखेतीमा छन्।
किवीखेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए। चालु आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाबाट विनियोजन भएको रु १२ लाख बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुङ्गानाले बताए।
‘विगतका वर्षमा यस क्षेत्रमा फलफूलखेती प्रवर्द्धन कार्यक्रममार्फत किवीखेती विस्तारमा नगरपालिकाले सघाएको थियो, यस वर्ष किवी पकेट क्षेत्र विस्तार कार्यक्रम नै सञ्चालन गरेका छौं, नयाँ बगैंचा स्थापना र व्यवस्थापनमा नगरपालिका र कृषकको समेत गरी २४ लाखभन्दा बढी लगानीको काम गर्न सफल भएका छौं, यसले सिङ्गो गाउँलाई किवीमय बनाउन सहयोग पुगेको छ,’ कृषि अधिकृत ढुङ्गानाले भने।
किवी पकेट क्षेत्र कार्यक्रममार्फत यस वर्ष दुई सय ५० वटा नयाँ बोट रोपिएको छ। किवीका बोटलाई फैलाउनका लागि सात सय दुई वटा पोलसहित तार टाङ्गिएको छ भने सिँचाइका लागि सात वटा ड्रम वितरण गर्नुका साथै सिँचाइ पाइपसमेत वितरण गरिएको छ। किवीखेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएका छन्। किवी पकेट क्षेत्र विस्तारले किसानमा किवीखेती विस्तारमा उत्साह छाएको वडा सदस्यसमेत रहेका किसान रत्न जिसीले बताए।
वैदेशिक रोजगारको विकल्पमा किवीखेती
बेनी नगरपालिका–३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकैखेती हुँदै आएको आठ रोपनीमा किवीखेती सुरु गरेका छन्। दुई वर्षदेखि किवीखेतीमा लागेका मगरले ११० वटा बोट किवी लगाइसकेका छन्। भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवीखेतीलाई रोजेको बताए।
‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई त्यागेर कृषि कर्ममा लागेको हुँ, आफ्नै गाउँको माटोमा पसिना बगाएर स्वरोजगार बन्ने मेरो सपना छ, अझै दुई रोपनी बारीमा किवी विस्तार गर्ने योजना बनाएको छु,’ उनले भने। मगरले यस वर्ष मात्रै बेनी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा दुई सय दुई वटा पोल निर्माण गरेका छन्। किवीखेतीको विस्तार र बगैंचा व्यवस्थापनमा यस वर्ष मात्रै रु छ लाख बराबरको काम गरेको उनले बताए।
भकिम्लीको मुसुङमा वैदेशिक रोजगारी त्यागेर किवीखेतीमा लागेका किसान लालबहादुर घर्तीले सात रोपनीमा किवी लगाएका छन्। ‘रोजगारको सिलसिलामा करिब १० वर्ष ओमन र साउदीमा बिताएँ, त्यहाँ बस्दा पनि घर खर्च चलाउनबाहेक थप आर्थिक उन्नति गर्न सकिएन, त्यसपछि स्वदेश फर्किएर किवीखेतीमा लागेको हुँ,’ घर्तीले भने। विसं २०७५ मा वडा कार्यालयले किवीखेतीसम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरु किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन्।
घर्तीको किवी फर्मबाट उत्पादनसमेत सुरु भइसकेको छ। गत वर्ष मात्रै रु ८० हजारको किवी बिक्री गरेका उनले १७ रोपनीमा किवीखेती विस्तार, बगैंचा स्थापना र व्यवस्थापनमा नगरपालिकाबाट पाएको सहयोगले आफूलाई उत्साहित बनाएको जानकारी दिए।
पुनले तीन सय वटा किवीका बिरुवा रोपेकोमा अहिले एक सय ७० वटा बोटले फल दिन सुरु गरिसकेको छ। गत वर्ष रु तीन लाखको किवी बिक्री गरेका पुनले यस वर्ष बेनी नगरपालिकाको अनुदानमा ८४ वटा पोल र नयाँ बोटसमेत विस्तार गरेको जानकारी दिए।
उचित बजार व्यवस्थापनको चुनौती
अनुकूल हावापानी र उचित खेतीयोग्य जमिनका कारण भकिम्लीमा किवीखेती विस्तार हुन थालेसँगै उचित बजार व्यवस्थापनको चुनौती देखिएको छ। गाउँमा उत्पादन नभएको किवी स्थानीय बजारमा खपत हुन सक्ने अवस्था नभएपछि बागलुङ, पोखरा, काठमाडौंलगायतका बजारमा पठाउन थालिएको छ।
कात्तिकदेखि पुससम्ममा किवीको बजारीकरण गरिन्छ। गत वर्ष यहाँका कृषकहरुले प्रतिकिलो रु एक सय ८० मा किवी बिक्री गरेका थिए। सुरुवातका वर्षमा प्रतिकिलो रु दुई सय ५० सम्म मूल्य पाएका किसानले उत्पादन गरेको किवीको उत्पादन बढेसँगै उचित बजारको अभाव देखिन थालेको मुसुङका किसान लालबहादुर घर्तीले बताए।
किवी पकेट क्षेत्रका रुपमा विकास भइरहेको भकिम्लीमा बेनी नगरपालिकाले नयाँ बिरुवा विस्तार, पोल बनाउने र तार तान्ने र बगैंचा व्यवस्थापन र फलको गुणस्तर कायम गराउन अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराएको बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताए। उनको भनाइअनुसार भकिम्लीको सिममा किवी भण्डारणका लागि गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको लागत साझेदारीमा चिस्यान घर बनाउन सुरु गरिएको छ। नगरपालिकाले किसानलाई किवीबाट जुस बनाउने तालिम प्रदान गर्ने जनाएको छ।
फलफूलको राजाको उपनामले परिचित किवी समुद्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइदेखि दुई हजार पाँच सय मिटरको उचाइसम्म खेती गरिन्छ। किवीको बोटमा तीन वर्षमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्छ। अमिलो र गुलियो स्वाद पाइने किवीलाई खेती गर्न प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ।
























