रौतहटमा भन्सार छलीको सामग्रीसहित चालक पक्राउ


रौतहट। बिलबिजक भन्दा बढी लाखौंको सामग्री लोड गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार बिहान ४ बजे चन्द्रपुर नगरपालिका-४ स्थित जिल्ला ट्राफिक कार्यालय अगाडि ना ७ ख ७६७६ नम्बरको मिनि ट्रक चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएको ४५ लाख ५६ हजार रुपैयाँ बराबरको कपडा र किरानाका विभिन्न सामान बरामद गरिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए।
जिल्ला प्रहरी कार्यालय रौतहट, गौर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाका आधारमा वीरगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त ट्रकमा नियन्त्रणमा लिएको थियो। ट्रकसहित ट्रक चालक सर्लाही जिल्लाको हरिवन नगरपालिका-९ बस्ने ३० वर्षीय जय दास समेतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय बारामा बुझाइएको प्रवक्ता रायले बताए।


















