बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड २७ लाख


चितवन । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा कानुनमन्त्री कुञ्जनराज काफ्लेले आइतबार राती प्रदेशसभा बैठकमा सो बजेट सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ अनुमान गरिएको छ ।
संघिय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण बाट ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, सञ्चित कोण विविध प्राप्ति १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ खर्च व्यहोर्ने स्रोत अनुमान गरिएको छ । मन्त्रालयगत शिर्षकमा सबैभन्दा बढी भौतिक तथा पूर्वाधार विकास मन्त्रालयमा २४ अर्ब ८० करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै खानेपानी, उर्जा तथा सिँचाइँ मन्त्रालयका लागि ७ अर्व २८ करोड ७१ लाख, स्वास्थ्य मन्त्रालयका लािग ३ अर्ब ९६ करोड ८८ लाख, वन तथा वातावरण मन्त्रालय अन्तरगत ३ अर्ब ९९ करोड ६७ लाख, कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगत २ अर्ब ६३ करोड ४२ लाख विनियोजन गरिएको छ ।
यस्तै सांस्कृतिक तथा पर्यटन मन्त्रालयका लागि बागमती पदेशले ३ अर्ब ६७ करोड ७० लाख, युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब १६ करोड, उद्योग तथा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय तर्फ ७७ करोड ९६ लाख, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई अनुदान र कर बाँडफाँटबापत १४ अर्ब १५ करोड ८९ लाख हस्तान्तरण गर्ने भएको छ ।























