भ्रष्टाचार

भ्रष्टाचार अभियोगमा पक्राउ परेका मधेस प्रदेशका सांसद सिंह निलम्बित

नवलपुर टुडे
२०८२ जेष्ठ ३० | मध्यान्ह ०५:०२ बजे

जनकपुरधाम । मधेस प्रदेशका सांसद सरोज कुमार सिंह कुशवाहालाई निलम्बन गरिएको छ । आफ्नो स्वकीय सचिव मार्फत उपभोक्ता समितिको खाताबाट रकम झिकेर निजी खातामा राख्न लगाएर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले उनलाई पक्राउ गरेपछि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सचिवालय पठाइएको निलम्बनसम्बन्धी पत्र सभामुख रामचन्द्र मण्डलले शुक्रबार प्रदेशसभामा पढेर सुनाएका हुन् । विषेश अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि  सिंहलाई बिहीबार काठमाडौंबाट आयोगको टोलीले पक्राउ गरेकाे थियाे। जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा दाखिला भएको रकम निजी सचिव विनोदलाल कायस्थ मार्फत निजी खातामा जम्मा गर्न लगाएको अख्तियारको ठहर छ ।

उनका सचिव कायस्थ महोत्तरीबाटै केही दिनअघि पक्राउ परेका थिए । मधेश प्रदेशसभामा १ सय ७ जना सांसद थिए । जसमध्ये तीन जना सांसद निलम्बन भइसकेका छन् । यसअघि नेकपा एमालेका सांसद दिपेन्द्र ठाकुरमा माथि भ्रष्टाचार मुद्दा  दर्ता भएपछि उनी पनि निलम्बनमा परेका हुन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित सांसद अभिराम शर्मालाई कर्तव्य ज्यान मुद्दामा अदालतले जन्म कैदको फैसला सुनाएपछि उनी निलम्बित भइसकेका छन् ।

कमेन्टहरु