मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
नेतृत्वको लागि कार्यकर्ता: युवा शाही


बाजुरा , जेष्ठ २२ । सत्ता र शक्ति नजिक पुग्न पहिलो भर्याङ तमाम इमानदार कार्यर्ताहरु नै हुन ।कुनै एक जना नेता लाई स्थापित गर्न, एक एक कार्यकर्ताको सक्रियता र मिहिनेत हुन्छ । साझा अपेक्षा देश र जनताको भविष्य, सिङ्गो मुलुक बनाउने अधिकार सम्पन्न जिम्मेवारी सहितको मत दिएका हुन्छन । त्यो सहयोग समर्थन र मत प्राप्तीको लागि कैयन कार्यकर्ताले आफ्नो वैयक्तिक जीवनको प्रबाह नगरी सैद्धान्तिक बिचारबाट ओतप्रोत कार्यकर्ताहरु मत माग्ने मैदानमा अग्रमोर्चामा उभिएका हुन्छन ।
कैयन बिरोधिहरुको ढुङ्गा मुडा सहन्छन, सुरक्षाकर्मीहरुको लट्ठि पचाउछन । तमाम नागरिकहरुको तिखा प्रश्नहरुको सामना गर्छन्।त्यसपछी मात्र सत्ता शक्तीमा पुग्न अमुक नेता लाई अवसरको ढोका खुल्छ । निजि सचिव, सल्लाहकार आसेपासे भर्ती गर्ने त्यसपछि मात्र लाइसेन्स प्राप्त हुन्छ । तर यहाँसम्म आइपुग्ने सिलसिलामा कैयन कार्यकर्ताहरु न चाहादा न चाहादै फोहोरी राजनैतिक आक्रमण र वैयक्तिक आर्थिक संकटको मारमा परेका हुन्छन।
कैयन उर्जावन कार्यकर्ताहरु झुट्ठा मुद्दाहरुमा जेल जीवन व्यतीत गरिसकेका छन भने कैयन कष्टकर जेल जीवन बिताईरहेका छन । उनको आर्थिक स्रोतका ढोकाहरु लगभग बन्द जस्तै हुन्छन्।सहयोग सापटी उदारो ऋण त कार्यकर्ताहरुको दोस्रो परिचय जस्तै हो। यसको निवारण नेतृत्वको अनिबार्य राजनितिक धर्म र जिम्मेवारी हो।आफ्नो सुरक्षित राजनितिक भविस्य सङ्गै कार्यकर्ता व्यवस्थापन पनि पहिलो सर्त हो । यसको अर्थ के होइन भने आफ्नो शक्ति र सत्ताको दुरुपयोग गर्दै कार्यकर्ताहरुलाई राज्यको पैसा दोहन गरेर घर खर्च चलाउन सहयोग गर्नु पर्छ भन्ने होइन।
सम्भावावित पेशा व्यवसाय उद्धम छनोट गरेर काम गर्न सल्लाह सुझाब सहित सहयोग गर्नु पर्छ।आवश्यकतामा उर्जावान युवा अनुहारहरुको अधिकतम प्रयोग अनि स्वार्थ पुर्ती भएपछि अनावश्यक सल्लाहकारहरुको सुझाव र अनुरोधमा कुनै कार्यकर्तामाथी कठोर निर्णय र व्यबहार गर्नु राजनैतिक बेइमानी पनि हो । त्यसैले नेतृत्वले चुनाबी मैदानमा राजनैतिक अस्तित्वको प्रतिस्पर्धा चलिरहदा अग्रपंक्तिमा रहेका सहयोगी र सहयोद्धा लाई आसेपासे भन्दा उपल्लो दर्जाको नजरले हेरिनुपर्छ।
अवसर बाट बन्चित गर्नु र गरिनु व्यक्तिगत कुरा हो, सहयोग गर्नु असहयोग गर्नु पनि व्यक्तिगत कुरा होला।तर इमानदार कार्यकर्ताहरु माथि द्वेष भाव राख्न कदापी राम्रो हुन सक्तैन। नेतृत्वले कार्यकर्ताहरुमा समभाव राख्नु पर्छ। यो नै सामाजिक व्यक्ति वा नेतृत्वको लागि हितकर हुन्छ।साथै आजका युवा कार्यकर्ताहरु उच्च राजनैतिक संस्कारले पूर्ण हुनुपर्छ। जसबाट उच्च कोटिको राजनैतिक व्यक्तित्व निर्माण गर्न सकिन्छ।
नैतिक जिम्मेवारीको बोध गर्दै आर्थिक अनुशासनको पालना सङ्गै आर्थिक लालचको मनोबिज्ञानबाट अनिवार्य छुटकारा लिनु आजको राजनैतिक कार्यकर्ताहरुको आवश्यकता पनि हो।राजनैतिक शुद्धताका लागि पेसा व्यवसाय उद्धम सहितको समाज सेवा नै उत्तम राजनैतिक मार्ग हो भनेर युवा कायकर्तालाई कसले बुझाउने ? नाराबाजी, बन्द, हडतालको ठेक्का जस्तै लिएका युवा बिद्यार्थीहरु लाई राजनैतिक संस्कार सहितको जिम्मेवारी कसले सिकाउने? पार्टी संगठन र दलको आन्तरिक कलह गुटगत राजनितीमा नेताहरुको सबैभन्दा बढ्ता प्रयोग कोहि हुन्छ भने त्यो उमेरले युवा र पेसाले बिद्यार्थी नै हुन्छ।
त्यसलाई `कहिले क्रान्तीकारी बनाईन्छ त कहिले बिद्रोही त कहिले कायर सौदाबाज बनाईन्छ´। उसको बिचार सिद्धान्त समुचित र सानो दायरामा निर्माण हुन्छ। व्यापक विचार र सिद्धान्तको अभ्यास नै गर्न पाउदैन। त्यसैले पनि आज राजनैतिक क्षेत्रमा व्याप्त चाकरी चाप्लुसी दास जस्ता शब्दावलीहरु बढ्ता प्रयोगमा आईरहेका छन र अर्थपूर्ण पनि छन। यस्तो प्रकारको व्याप्त संस्कारले सिङ्गो राजनैतिक बिचार र पार्टी लाई नै धमिलो बनाएको छ।जहाँ इमानदार सक्षम क्षमतावान र सक्रिय कार्यकर्ताहरु खेमा विशेष राजनितिक शिकार भईरहेका छन। विचार र सिद्धान्तले ओतप्रोत कार्यकर्ताहरु पार्टी भित्रै बैकल्पिक मार्ग खोजिरहेका छन।
पार्टी संगठन भित्र कार्यकर्ताहरुको यो साझा आवाज लाई नेतृत्वले सम्बोधन गर्न सकेन र यो प्रकारको साझा बिचार लाई सहि स्थान दिन सकेन भने यसको परिणाम दु:खद भएर हाम्रा सामु देखा पर्ने निश्चित जस्तै छ। बढ्दो गुटगत राजनिती र पार्टी भित्रको आन्तरिक द्वन्दका बारेमा अझै पनि गम्भीर भएर नसोच्ने हो भने संगठन कमजोर हुने निश्चित नै छ।सङ्गै कार्यकर्ताहरुको आवजलाई पनि सम्बोधन गर्ने सुन्ने समाधान दिन सक्ने परिपाटीको जग बसाल्नु पर्ने देखिन्छ।
राजनैतिक नेतृत्वले कार्यकताहरु लाई सहि दिशानिर्देश गर्नुपर्छ। सहि सुझाब सहि सल्लाह र सहि समयमा सहयोग गर्नुपर्दछ। जसले नेतृत्व र कार्यकर्ता बिचको सम्बन्ध लाई अझ बढ्ता मजबुत बनाउदछ। नेतृत्वको यस्तो सकारात्मक व्यबहारले कार्यकर्तालाई पार्टी संगठन प्रती थप जिम्मेवार र इमानदार बनाउछ। यसले नेतृत्वको पनि उच्च राजनैतिक छबि निर्माणमा टेवा पुर्याउदछ।त्यसैले कहिले हामी गलत दिशा तिर गईरहेका छैनौ?पुनर्विचार गर्नु पर्ने देखिन्छ। युवा कार्यकर्ताहरु लाई `योग्य योग्यन योजयत´को मुलमन्त्रबाट उपयुक्त पद उपयुक्त जिम्मेवारी दिईनुपर्छ।
जो जुन स्थान र ठाउँमा उपयुक्त छ उसलाई सोही ठाउँमा नियुक्त गरिनुपर्छ। तब मात्र चुस्त दुरुस्त संगठन निर्माण गर्न सकिन्छ। नेतृत्वले आफ्ना अनुकुल कार्यकर्ताहरु लाई प्रयोग गरेर सिङ्गो पार्टी संगठन बर्बाद गर्ने कारक बन्नु हुदैन। अनावश्यक रुपमा कसैलाई सिद्धाउने निउमा असक्षम कार्यकर्ताहरुको हातमा पार्टी संगठन र मोर्चाको जिम्मेवारी सुम्पिनु हुदैन। समय आज बद्लिएको छ,त्यसैले हामी पनि बद्लिनुपर्छ । हाम्रो सोच्ने तौल तरिका पनि बदल्नुपर्छ।समाज प्रतिको स्पष्ट दृस्ठिकोण हुनुपर्छ । नागरिक,समाज प्रती थप चिन्तन गरेर आफ्ना साङ्गठनिक योजनाहरु तय गरिनुपर्छ।
बेरोजगारी, भ्रस्टाचार, महङ्गी व्याप्त छ । रोजगारीका लागि लाखौं युवा प्रदेशको भुमिमा पसिना बगाईरहेका छन । हाम्रो अन्तरास्ट्रिय एअरपोर्टले आगन्तुक बिदेशी पाहुनाको स्वागतको तुलनामा हजारौं गुणा बढी स्वदेशी उर्जावान युवाहरु लाई कामदारको रुपमा बिदाई गरिरहेको छ । यो दु:खद परिस्थिति हाम्रा सामु जगजाहेर नै छ। यसको निवारण र व्यवस्थाको रक्षा पनि हाम्रो जिम्मेवारी हो।
देशमै रोजगारीका सम्भावनाहरुको पहिचान गरि युवाहरुको उर्वर उमेर हाम्रै भुमिमा खपत गर्नु पर्छ भन्ने तिर सामुहिक ध्यान केन्द्रित गर्नु पर्ने देखिन्छ।कृषि, प्रयटन, जडिबुटी जस्ता महत्वपूर्ण क्षेत्रहरुमा हाम्रो साझा उदेश्य र कार्यक्रमहरु स्पष्ट हुनुपर्छ र राज्यलाई अधिकतम लगानी गर्न सुझाव गर्नुपर्छ।साथै नयाँ लगानीकर्ता लाई पनि विश्वस्त पार्नु पर्छ।समृद्धि र समुन्नतिको स्पष्ट दीर्घ योजना हुनुपर्छ।
जसले गर्दा संगठन जनताहरुको माझमा जीवित रहन सक्छ।
यिनै तमाम महत्वपूर्ण कामहरु गर्न सक्षम व्यक्तिहरुको पार्टी संगठनमा आवश्यक हुन्छ।तसर्थ उर्जावान अध्यनशील सक्रिय र इमानदार कार्यकर्ताहरुलाई राजनैतिक नेतृत्वमा सहयोग गरौं।खेमा विशेष गुटगत राजनितीको कोठे भेला होइन,कार्यकर्ताहरुमा बृहत् प्रशिक्षणका कार्यक्रम संचालनको सुरुवात गरौं । पार्टी नेता र कार्यकर्ता बिचको सम्बन्धको इमानदारीताका साथ कदर गरौं ।























