अपराध

प्रधानमन्त्री ओलीकै पहलमा लामिछानेको कारागार सरुवा

नवलपुर टुडे
२०८२ जेष्ठ २० | मध्यान्ह ०५:०२ बजे

काठमाडौँ । रमेश लेखक राजीनामा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले आक्रामक भूमिका खेलेपछि सरकारले अचानक रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट डिल्लीबजार जेलमा स्थानान्तरण गर्ने तयारी गरेको छ। लामिछानेको काठमाडौँ स्थानान्तरणले राजनीतिक लेनदेन र वार्ताको मार्ग प्रसस्त हुने अड्कलबाजी गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा लामिछानेको सरूवा हुन थालेको हो।

रमेश लेखक प्रकरणमा माओवादीसँगै रास्वपाले छानबिन र राजीनामाको माग पूरा नभएसम्म संसद् अवरोधलाई निरन्तरता दिने अडान लिएपछि सरकारले लामिछाने सरूवामा चासो देखाएको हो। राजनीतिक व्यक्तिहरू आपराधिक अभियोगमा डिल्लीबजार जेलमा हुँदा रेशम चौधरीलगायत कतिपय केसमा मोलतोल र बार्गेनिङ सहज भएको थियो।

उनलाई डिल्लीबजार कारागार ल्याउन प्रक्रिया अगाडि बढाइएको छ। अहिले सरूवाका लागि लामिछाने पक्षीय वकिलले रुपन्देही जिल्ला अदालतबाट अनुमति  लिईसकेका छन्। केन्द्रीय कारागार विभागबाट अनुमति पाएलगत्तै उनी काठमाडौँ सरुवा हुनेछन्। लामिछानेलाई डिल्लीबजार कारागारमा गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङे नै रहेको ब्लकमा राख्ने तयारी छ।

सहकारी प्रकरणमा लामिछाने गत चैत २२ देखि पूर्पक्षका लागि थुनामा छन्। लामिछानेपत्नी निकिता पौडेल लामिछानेले उनलाई थुनामुक्त गर्न आदेश गर्दै बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरे पनि उनको रिट सर्वोच्चले खारेज गरिदिएको थियो।

कमेन्टहरु