देश

उपत्यका बन्दको कार्यक्रम संयुक्त जनआन्दोलन समितिले लिए फिर्ता

नवलपुर टुडे
२०८२ जेष्ठ १९ | बिहान ०८:०२ बजे

काठमाडौँ । आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेपछि घोषणा गरिएको उपत्यका बन्दको कार्यक्रम संयुक्त जनआन्दोलन समितिले फिर्ता लिएको छ। समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेको जानकारी दिएका छन्।

यसअघि हिजो नारायण चौरमा आयोजित कार्यक्रमस्थलबाट प्रहरीले हस्तक्षेप गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालगायत केही नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेका राप्रपाका सांसद तथा नेता दीपकबहादुर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

नेता तथा कार्यकर्ता पक्राउ परेपछि संयुक्त जनआन्दोलन समितिले आन्दोलनलाई थप चर्काउने र उपत्यका बन्द गर्ने घोषणा गरेको थियो। तर, पक्राउ परेका कुल आठ जनामध्ये कमल थापा र दीपकबहादुर सिंहसहित सात जनालाई भने अबेर साँझ रिहा गरिएको थियो। आफ्ना नेता तथा कार्यकर्ता रिहा भएपछि समितिले बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो।

यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने सामाजिक सञ्जाल फेसबुकमार्फत बन्द, हड्ताल जस्ता गतिविधिमा आफ्नो पार्टी सामेल नहुने जानकारी दिएका थिए।

pstatement

कमेन्टहरु