एनआरएनए आईसीसी विवादले कतारको अन्तिम परिषद भेला स्थगित


रामएकवाल राम
दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद् (आईसीसी) मा चलिरहेको विवादको प्रभाव कतारमा पनि परेको छ।
गत शुक्रबार दोहाको होलिडे होटेलमा आयोजना गरिएको एनसीसी कतारको तेस्रो तथा अन्तिम परिषद् भेला सुरु नै न भई स्थगित भएको हो।
सर्वोच्च अदालतको परमादेशअनुसार महाधिवेशनबाट चयन भएका अध्यक्ष महेश श्रेष्ठ र बद्री केसी नेतृत्वको समूहबीचको विवादका कारण तेस्रो परिषद भेला प्रभावित भएको हो।
एनआरएनएका वरिष्ठ अभियन्ता, आईसीसी पदाधिकारी, पूर्वअध्यक्ष तथा समाजिक अगुवाहरूको सहमतिमा नेपाली समाजको हित र एकतालाई प्राथमिकता दिँदै थप संवाद आवश्यक भएको निष्कर्षमा भेला पुगेको बताइएको छ। त्यसैले, एनसीसी कतारको विधानको परिच्छेद ६ को दफा १३.३ अनुसार अर्को मिति तय नभएसम्मका लागि भेला स्थगन गरिएको जनाइएको छ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्टले अशान्त माहोललाई सम्हाल्दै अन्तिम परिषद् भेला सम्पन्न नहुँदासम्म सबै सिस्टमका परिषद् सदस्यता शुक्रबारबाटनै बन्द गर्ने घोषणा गरे ।
उनले छिट्टै सर्वदलीय तथा साझा बैठक बसेर नयाँ मार्ग पहिल्याउने प्रतिबद्धता व्यक्त गर्दै आकस्मिक रूपमा भेला स्थगित गर्दा परिषद्मा पर्न गएको असुविधाप्रति एनसीसी कतार र अध्यक्षका हैसियतमा माफी माग्दै परिषद् भेला स्थगित गरिएको बताए ।























