शिक्षा

एसइईको नतिजा प्रकाशनमा ढिलाइ हुने

नवलपुर टुडे
२०८२ जेष्ठ ९ | बिहान ०७:०२ बजे

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डरअनुसार एसइई सकेको तीन महिनाभित्र नतिजा प्रकाशन हुनुपर्छ तर उत्तरपुस्तिका परीक्षण गर्ने समयमा नेपाल शिक्षक महासंघको अगुवाइमा सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रेका कारण परीक्षण कार्य डेढ महिना ढिला सुरु भयो। यसैकारण नजिता प्रकाशनमा ढिलाइ हुने संकेत देखिएको हो।

गत वर्षको एसइई चैत ७ देखि १९ सम्म सञ्चालन भएको थियो। परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने बोर्डको क्यालेन्डरअनुसार असार १९ गते नतिजा आउनुपर्छ तर शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण करिब डेढ महिनापछि सुरु भयो। यसको असर नतिजा प्रकाशनमा ढिलाइ हुन सक्ने बोर्डका एक अधिकारीले बताए। गत चैतबाट सुरु भएको काठमाडौंकेन्द्रित शिक्षक आन्दोलन वैशाख १७ मा सरकारसँग सहमति भएपछि स्थगित भएको हो।

शिक्षकहरू काठमाडौंबाट फर्किएपछि बल्ला उत्तरपुस्तिका परीक्षण सुरु भएको थियो। एसइई दिएका विद्यार्थीले समयमै नतिजा प्रकाशन नभए आफूहरूको विदेशमा अध्ययनको अवसर गुम्ने बताएका छन्। कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार जति छिटो शिक्षकले उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्छन्, त्यति छिटो नतिजा प्रकाशन हुन्छ।

‘खासमा विगतमा उत्तरपुस्तिका परीक्षण परीक्षा सम्पन्न भएको एक सातापछि सुरु हुने गरेको थियो, तर यसपटक शिक्षक आन्दोलनका कारण डेढ महिना ढिला परीक्षण कार्य सुरु भएको छ’, नियन्त्रक भट्टराईले भने, ‘पाँच लाख १७ विद्यार्थीको उत्तरपुस्तिका ४० लाखजति हुन्छ। ती उत्तरपुस्तिका परीक्षण र संपरीक्षण गर्न समय त लाग्छ नै। हालसम्म पाँचवटा केन्द्रबाट मात्र उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको खबर आएको छ। सबै केन्द्रबाट परीक्षण भएका उत्तरपुस्तिका प्राप्त भएको भोलिपल्टदेखि काम थाल्दा पनि बोर्डलाई नतिजा प्रकाशन गर्न ३५ दिन लाग्छ।’

र्‍यान्डम सम्परीक्षणले नतिजामा त्रुटि

विगतमा एसइई उत्तरपुस्तिका सम्परीक्षकले र्‍यान्डम विधि अपनाउँदा नतिजामा धेरै त्रुटि फेला परेको राष्ट्रिय परीक्षा बोर्डको अनुसन्धानले देखाएको छ। २० प्रतिशत मात्र उत्तरपुस्तिका सम्परीक्षण गरी त्यसकै आधारमा अन्य उत्तरपुस्तिका पनि सम्परीक्षण भएको मान्ने विधिले धेरै विद्यार्थी मार्कामा परेको देखिएपछि यस वर्ष बोर्डले सम्परीक्षण विधिमा परिमार्जन गरेको नियन्त्रक भट्टराईले बताए।

अघिल्लो वर्ष ‘ए प्लस’ ल्याउने धेरै विद्यार्थी फेल भएको नतिजा प्रकाशन भएको थियो। यसले विद्यार्थी अनावश्यक मानसिक तनाब खेप्न बाध्य बनेका थिए। ‘यसकारण अब कोही पनि विद्यार्थीले अनावश्यक मानसिक तनाव खेप्न नपरोस् भन्ने उद्देश्यले यसपटक बोर्डले सम्परीक्षकलाई सबै उत्तरपुस्तिकाका पाना पल्टाएर सम्परीक्षण गर्न निर्देशन दिएको छ। उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्न अभिमुखीकरण पनि गरियो’, नियन्त्रक भट्टराईले भने, ‘गत वर्षसम्म एसइई उत्तरपुस्तिका परीक्षण भएपछि सम्परीक्षण गर्दा २० प्रतिशत मात्र हेर्ने व्यवस्था रहेछ। यसले धेरै त्रुटि देखियो।’

उनका अनुसार देशभरिका ५० वटा केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षण कार्य भएको छ। पाँच लाख १७ हजार विद्यार्थीले एसइई परीक्षा दिएका छन्। परीक्षकले प्रतिउत्तरपुस्तिका परीक्षण पारिश्रमिक २४ रूपैयाँ र सम्परीक्षकले प्रतिउत्तरपुस्तिका सम्परीक्षण गरेवापत ६ रूपैयाँ पाउने व्यवस्था छ। नियन्त्रक भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण जति छिटो सकिन्छ नतिजा पनि त्यति नै छिटो प्रकाशन हुन्छ।

कमेन्टहरु