समाचार

बर्दघाटको गुणस्तरीय स्वास्थ्य सेवाका लागि धुलिखेल अस्पतालले सहयोग गर्ने

नवलपुर टुडे
२०८२ जेष्ठ ८ | बिहान ०७:०२ बजे

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको स्वास्थ्य सेवालाई स्तरोन्नति र विशेषज्ञसहितको गुणस्तरीय सुविधा उपलब्ध गराउन धुलिखेल अस्पतालले सहयोग गर्ने भएको छ । नगरपालिकाको स्वास्थ्य प्रणालीलाई चरणबद्ध रूपमा मजबुत बनाउन र बर्दघाट नगरपालिकाका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन धुलिखेल अस्पतालले सहयोग गर्ने भएको हो । काभ्रेमा रहेको धुलिखेल अस्पताल र बर्दघाट नगरपालिकाबीचको समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । विभिन्न पाँच चरणमा धुलिखेल अस्पतालले प्राविधिक सहयोगका साथै भने सेवा विस्तार, उपकरण स्तरोन्नति, विशेषज्ञ सेवा सुरूवात, तालिमलगायतमा सहयोग गर्नेछ । चौधरी फाउण्डेसनको पहलमा धुलिखेल अस्पतालले बर्दघाट नगरपालिकामा आफ्नो विशेषज्ञ सेवा दिने गरी समझदारी भएको हो ।

photo 2025 05 22 06 56 45

धुलिखेल अस्पतालको सहयोगमा डायालाइसिस सेवा केन्द्र स्थापना गरिनेछ, जसले विशेष गरी गम्भीर मिर्गौला रोगीलाई टाढा जानु नपरी स्थानीयस्तरमै उपचार उपलब्ध गराउनेछ। धुलिखेल अस्पतालले यसअघि नै ६ वटा डायलासिस मेसिन हस्तान्तरण गरिसकेको छ । चौपत्ता अस्पतालमा ति मेसिन जडान गरिएको छ ।

समझदारीपत्रमा बर्दघाट नगर क्षेत्रका सबै स्वास्थ्य केन्द्रहरूलाई समन्वय गरी एकीकृत सेवा योजना लागू गरिने उल्लेख छ। यसले नगरभित्रै व्यापक र समन्वित उपचार प्रक्रिया सुनिश्चित गर्ने समझदारी पत्रमा उल्लेख छ ।

photo 2025 05 22 06 56 48

यस्तै धुलिखेल अस्पतालले बर्दघाट नगर क्षेत्रमा तीन तीन महिनामा विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गर्नेछ भने हप्तामा एक दिन विशेषज्ञ चिकित्सकसँग टेलिमेडिसिनमार्फत परामर्श उपलब्ध हुने व्यवस्था गरिने जनाइएको छ । समझदारी अनुसार धुलिखेल अस्पतालले स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्नुका साथै दीर्घकालीन मानव स्रोत विकासको योजना अघि बढाउनेछ । त्यस्तै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि नयाँ उपकरणहरू भित्र्याउने र स्रोत विकास गरिने बताइएको छ।

समझदारी पत्रमा धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा बिराजमान कर्माचार्य र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा उल्लेखित सेवा प्रवाह धुलिखेल अस्पतालले निशुल्क प्रदान गर्नेछ । चौधरी फाउन्डेसनले पश्चिम नवलपरासीमा स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राख्दै सरकारी तथा गैरसरकारी निकायँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कमेन्टहरु