जुम्लावासी यार्सा टिप्न पाटन पुगे


गोल्डेन बुढा
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाका-१ गडिगाउँका जंगबहादुर ऐडी अहिले बहुमूल्य जडीबुटी यार्सा टिप्न पाटनतिर लागेका छन्। स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा टिप्न लागेको जंगबहादुर बताउँछन्। राम्रोसँग यार्सा संकलन भए बर्ष दिनको खर्च जुटाउन खासै कठिनाइ नहुने उनी बताउँछन्।
उनले भने, ‘पातारासी गाउँपालिका भित्रका हजारौँ युवा युवतीहरू पाटनमा गएर यार्सा संकलन गर्छन् ।’ बर्सेनि उनीहरूको आयस्रोत यार्सा नै हो। दुई महिना खटिएर पाटनमा यार्सा टिप्न काला पहाड जानु नपर्ने उनी बताउँछन्। अहिले पातारासी गाउँपालिकाको आयआर्जनको मुख्य स्रोत भनेकै यार्सा बनेको छ।
पातारासीकै सृजना ऐडी पनि यार्सा टिप्नकै लागि पाटनतिर हिँडेकी छन्। खेतीपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने सृजना बताउँछिन्।
पातारासी गाउँपालिका-१ का वडा अध्यक्ष लालसिंह ऐडी नीयबासीको मुख्य जीविकोपार्जनको स्रोत नै यार्सा रहेको बताउँछन्। उनी भन्छन्, ‘स्थानीयवासीको मुख्य जीविकोपार्जनको स्रोत नै जडीबुटी हो। १ देखि ७ वडाका युवा, युवती गाउँमै भेटिँदैनन्। रहर होइन बाध्यता छ। घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन। घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन लेखाउन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न जानुको विकल्प छैन।’
पातारासी गाउँपालिका-२ मा रहेको सरस्वती माविका तल्फीका सहयोगी चुम्मा बोहोराका अनुसार माथिल्लो तहका विद्यार्थी पनि पाटन पुगिसकेका छन्। अहिले आधारभूत तहका विद्यार्थी मात्रै पढ्न आउँछन्। उनले भनिन्, ‘गाउँपालिका भित्रका सबै विद्यालयका विद्यार्थी पाटन निरन्तर जान्दैछन् । उक्त विद्यालय कक्षा १० मा अध्ययनरत पुजा विश्वकर्माले ३ जना केटी साथीहरू मात्रै विद्यालय आउँछन्। अरु सबै गयल छन्।’
जुम्लाको, सिंजा, कनकासुन्दरी, हिमा,तातोपानी तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाबाट गाउँका पनि १२ वर्षदेखि माथि ५० वर्षभन्दा तलका सबै पाटन पुगिसकेका छन्। गाउँमा बिरामीको रेखदेख गर्ने मान्छे भेट्न पनि मुस्किल छ। जुम्लाका ९० प्रतिशत यार्सा खोज्न पाटनतिर गएको अनुमान छ।























