तस्कर

तस्करीको मुख्य सूत्रधार प्रहरी हवल्दार, श्रीसिया चौकीबाट चल्यो करोडौंको अवैध कारोबार

नवलपुर टुडे
२०८२ जेष्ठ ३ | बिहान ०८:०२ बजे

पर्सा । देशको प्रमुख नाका पर्सास्थित ड्राइपोर्ट प्रहरी चौकीबाट करोडौंको तस्करी सञ्चालन भइरहेको तथ्य सार्वजनिक भएको छ। प्रहरी पोशाकमा बसेका घुमुवा हवल्दार सुबोध साह यस अवैध कारोबारको ‘ब्रेन’ भएको पुष्टि हुँदै गएको छ। साहको आडमा सीमावर्ती क्षेत्र श्रीसिया र खल्वा नाकाबाट दैनिक रूपमा लत्ताकपडा, हाड–जुँगा, मोटर पार्ट्स र काजु जस्ता महंगी सामानको संगठित तस्करी भइरहेको छ।

तस्करीको लाइन खोल्न ‘श्रीपुर’ र ‘क्राइम शाखा’का नाममा असुली

ड्राइपोर्ट चौकीका तत्कालीन ईन्चार्ज सत्यप्रकाश त्रिपाठीको पालामा घुमुवा रहेका साहले जिल्ला प्रहरी कार्यालयको क्राइम शाखा र वडा प्रहरी कार्यालय श्रीपुरको नाममा मोटी रकम उठाएर तस्करीको लाइन खुला गरेका थिए।
एकपटक तस्करीको सामान बरामद भएपछि तस्करहरू स्वयं चौकीमा पुगेर भनेका थिए, *”हामीले श्रीपुर र क्राइम शाखाको पैसा साहलाई दिइसकेका छौं।”* त्यसपछि चौकीका सईले आफैंले साहमार्फत तस्करको रकम फिर्ता गराएको खुलासा भएको छ।

कारबाही होइन, फेरि उही पोस्टमा! घुमुवाको आडमा संरक्षण जारी

तस्करहरूसँगको साँठगाँठका कारण जिल्ला तानिएका हवल्दार साह केही समयपछि पुनः ड्राइपोर्ट प्रहरी चौकीमा घुमुवा बन्न सफल भएका छन्। प्रहरी नियमअनुसार निरन्तर एउटै स्थानमा सेवा दिन नपाउने भए पनि साहले पर्सामा चार वर्षदेखि अड्डा जमाएर बसेका छन्। स्रोतका अनुसार यो ‘राजनीतिक पहुँच र संगठनभित्रकै संरक्षण’ बिना सम्भव थिएन।

यौनधन्दा र मदिरा पसलहरूमाथि पनि ‘हवल्दार कर’

साहको आर्थिक नेटवर्क तस्करीमै सीमित छैन। ICP आसपासका होटलहरूमा चल्ने यौनधन्दा र मदिरा पसलहरूसँग डरधम्की देखाएर प्रति होटल ६ हजारदेखि १५ हजार रुपैयाँसम्म नियमित असुली हुने गरेको स्थानीय व्यवसायीहरू बताउँछन्। डरका कारण होटल व्यवसायीहरू खुलेर बोल्न सक्दैनन्।

प्रहरी संगठनभित्रै पावर गेम ? एसपीका निर्देशनको अवज्ञा!

जिल्ला प्रहरी प्रमुख एवम् एसपी गौतम मिश्रले तस्करी नियन्त्रण गर्न र आर्थिक गतिविधिमा प्रहरी संलग्न नहुन स्पष्ट निर्देशन दिँदै आएका छन्। तर साह फेरि सोही चौकीमा बस्न सफल हुनु, खुलेआम असुली गर्नु र तस्करीका लाइन खुला गर्नुले एसपीको निर्देशनको अपमान मात्र होइन, प्रहरी संगठनभित्रै ‘पावर गेम’ सक्रिय रहेको सन्देश दिन्छ।

अब प्रश्न उठ्न थालेको छ

के प्रहरीको पोशाकभित्र लुकेका घुमुवाहरू तस्करीका संरक्षक हुन्?
के प्रहरी संगठनभित्र पहुँच र पैसा भएकालाई कानूनले छुन्न सक्दछ?

कमेन्टहरु