साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
दिप्शन गुरुङ
२०८२ बैशाख ३१ | मध्यान्ह १२:०१ बजे

काठमाडौँ, वैशाख ३१ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९ जना नेपाली अलपत्र परेकाले तत्काल उद्धार र सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“रोजगारदाता कम्पनी बन्द हुँदा कामविहीन भएका चार सय ६९ मध्ये दुई सय २६ जनाले नेपाल फर्कन चाहेका छन् । त्यहाँको दूतावासमा सम्पर्क गरेर उनीहरू नेपाल फर्कन चोहका बताएका छन्” सांसद बर्तौलाले भन्नुभयो, “रोजगारविहीन भएकामध्ये दुई सय ४३ जनाले नेपाल अन्य कम्पनीमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।”
“कामविहिन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, त्यहाँ खानाको समस्या छ, बिरामी परेका छन्, स्वास्थ्य उपचार पाएका छैनन्,” सांसद बर्तौलाले भन्नुभयो, “नेपाल फर्कन चाहनेले भिसा बन्द भएकाले स्वदेश आउन पाएका छैनन्, यथाशीघ्र ती नेपालीको उद्धार गरी आवश्यक सहयोग र सहजीकरणमा जुटन म सरकारसँग आग्रह गर्छु ।”


















