आज बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक विदा


काठमाडौं । आज बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।
यस अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। बुद्ध जयन्तीको अवसरमा सरकारले देशभर सार्वजनिक विदासमेत दिएको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएकाे योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।
राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए।























