इतिहास, कोशी प्रदेश, गण्डकी प्रदेश, पर्यटन, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, वातावरण, विचार/ब्लग, शिक्षा, समाज, साहित्य
कविताको शिर्षक सुनसान पुरानो बागलुङ बजार र आशाको सपना


याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ
९८४७६५७३००
कविताको शिर्षक
सुनसान पुरानो बागलुङ बजार र आशाको सपना
बागलुङ बजारको पुरानो बजार
साविक धौलागिरी अञ्चलको चम्किलो मुकुट,
सदरमुकामको फुलजस्तै चहकिलो सपना।
डोल्पा र रुकुमतिर जाने देउराली चोक,
किराना टोल, नयाँ बजार, नौविसे टोल
कहिल्यै निद्रा नपचाउने ती गल्लीहरू,
आज सुनसान छन्, मौन छन्, चिसा छन्।
भलाटोलका उकाली-ओराली
उपल्लो गल्लीका बान्कीदार आँगनहरु
जहाँ हजारौका बाल्यकालका लुकामारी हुन्थे,
आज ति बजारमा आवाज हराएका छन्।
तर हल्लन चोक व्यस्त छ,
धौलागिरी चोक र समिट चोक पनि मस्त छ ।
साना गाडीका हर्नहरू,
फुटपाथका तीव्र पाइलाहरु लम्कीरहेको छ ।
फोनको आवाज र भीडले नयाँ लय सिर्जना गरेका छन्।
लोकतान्त्रीक चोक मज्जाले व्यस्त बनेको छ ।
धौलागिरी चोक जिपपार्क चोक नयाँ चोकमा परिणत भएको छ ।
नयाँ चोक गल्ली र बस्तीहरु लगातार बनि रहेको छ ।
खेतबारीमा फल्ने धान र कोदो फल्न छाडेको छ ।
पुरानो बागलुङ बजार पुराना घरहरुको सङग्रहालयमा परिणत भएको छ ।
पुरानो बजारका नेवार समुदायहरु
जो माटोमा रगत मिसाएर संस्कार बनाएका थिए ।
ति व्यापारी हातहरु काठमाडौँ, पोखरा, बुटवल
र परदेशका बाटाहरूमा हराएका छन्।
तर, के यो सुनसान अन्त्य हो त?
होइन भने पुराना बगालाहरु ढल्न लागे,
यो नयाँ बीउ छ, जुन पलाउने तयारीमा छ।
रमाइलो बागलुङ बनाउन के गर्नु पर्ला त?
स्मृतिलाई सजीव बनाउन पर्छ,
पुरानो गल्लीहरूलाई नयाँ स्वाद दिनुपर्छ,
स्थानीय संस्कृतिको मेलामा नयाँ पुस्ता घुलाउनु पर्छ।
साना-साना पुस्तकालय, कला दीर्घा, कफी हाउस,
खुल्ला सङ्गीत मंच र स्थानीय बजार फेस्टिवलहरू खोल्नुपर्छ।
बागलुङ फेरी रमाउँछ,
आफ्नै गन्ध र स्वादमा।
भविष्य लोभलाग्दो बन्छ,
जब हामी माटोलाई पुनः प्रेम गर्न थाल्छौं।
आशाको बीउ फेरी उम्रन्छ ।
देउराली चोकदेखि भलाटोलसम्म,
सपना बोकेर।























