देश

शुक्रराज अस्पतालमा कोभिडविरुद्धको प्रमाणपत्र लिनेको घुइँचो

जगत ठाडा मगर
२०७८ साउन ८ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरु घुइँचो लागेका छन् ।

वैदेशिक रोजगारमा जाने युवाहरुलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणपत्र चाहिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिन टेकुमा भीड लागेको हो । सयौँको संख्यामा मानिसहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्त व्यस्तता देखिनुका साथै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ ।

देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तीन दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र लिने पालो नआएको गुनासो गर्छन्। विदेश जानका लागि खोप लगाउनुपर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाई छ ।

खोप लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टाइनमा बस्न नपर्ने जनाइएको छ । तीन दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनुपर्ने सेवाग्राहीको भनाइ रहेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिन देखि प्रतिक्षा गर्नु पर्दा खान, बस्नको समेत समस्या भईसकेको युवाहरुको गुनासो रहेको छ ।

कमेन्टहरु