मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
चोयाकोट माविमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सुरु


बाजुरा , बैशाख १६ । शैक्षिक सत्र सुरु भएको एक महिना वित्न लाग्दा पनि विद्यार्थी भर्ना अभियान र अध्ययन अध्यापन सुरु हुन सकेको छैन । शिक्षकहरु विभिन्न माग राख्दै काठमाडौंमा आन्दोलनमा भएपछि जिल्लाको बडीमालिका नगरपालिका–३ रजालीमा रहेको चोयाकोट माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण कार्य मंगलबार सुरु गरेको छ ।
विद्यार्थीहरु भर्ना र उनीहरुले शिक्षा लिनबाट बञ्चित भएपछि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त पहलमा ले आजबाट भर्ना अभियान र विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो ।
विद्यालय व्यवस्थापन समिति, निजी शिक्षक तथा शिक्षक अभिभावक संघको संयुक्त साझेदारीमा विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् ।
उनले नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐन जारीको माग सहितको आन्दोलनको समर्थन जनाउँदै विद्यार्थीहरुका समस्या र अभिभावककको चाहना बमोजिम भर्ना सम्बन्धी समस्यालाई ख्याल गरी उक्त कार्य सुरु गरिएको बताए ।
हालसम्म शिक्षक कर्मचारीहरुको सडक आन्दोलनले भर्ना अभियान सुरु भएको अढाई महिना वितिसक्दा पनि बाजुरा सहित देशभरका सामुदायिक विद्यालयहरु ठप्प छन् ।
सामुदायिक विद्यालयहरु बन्द रहेको अवस्थामा जिल्लाका निजी विद्यालयहरुले भने पठनपाठन समेत सुचारु गरी सकेका छन् । यता चोयाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखबहादुर थापाले विद्यालय व्यवस्थापन समितिले बालबालिकाहरु पाठ्यपुस्तक वितरण गर्ने र उनीहरुलाई वडाका प्रत्येक टोलहरुमा टोल शिक्षा संचालन गर्ने जानकारी आएको बताएका छन् ।
शिक्षकहरु महासंघको आन्दोलनमा शिक्षा ऐन जारी गराउनका लागि काठमाडौं भएको र हामीहरु पनि कोही विद्यालयमा सहभागी नहुने विव्यसलाई समेत जानकारी गराएको प्रधानाध्यापक थापाले बताए ।
विव्यस र शिक्षक अभिभावक संघले बालबालिकाहरुलाई टोलमा सैद्धान्तिक मात्र भन्दा पनि व्यवहारिक ज्ञान सिप सिकाउने र उनीहरुको क्षमता अभिवृद्धि गर्दै लैजाने गरी विव्यसले पाठ्यपुस्तक वितरण गरेको हुन सक्ने थापाको भनाई रहेको छ । विद्यार्थीहरु विद्यालय संचालन नहुँदा विग्रने सम्भावना बढेपछि विव्यवसले गरेको काममा शिक्षकहरुलाई कुनै समस्या नहुने पनि थापा बताउँछन् ।
आफुहरु शिक्षा ऐन जारी नभएसम्म आन्दोलनमा सहभागी हुने र विद्यालयमा संचालन नगर्ने तथा विद्यालयमा कोही शिक्षकहरुलाई सहभागी नहुन पनि आग्रह गरेको प्रधानाध्यापक थापाले स्पष्ट पारेका छन् ।























