समाचार

सरुवा भएको डेढ महिना बित्दा पनि दाहाल पथलैया मै बसेर असुली धन्दा मच्चाउदै

नवलपुर टुडे
२०८२ बैशाख १५ | मध्यान्ह ०५:०१ बजे

पर्सा । तीन वर्षभन्दा बढी समयदेखि राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बसेर आतंक मचाइरहेका नायब सुब्बा अमिर दाहाल सरुवा भएपनि अहिले असुली धन्दामा जुटेको समाचार बाहिरिएको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयामा आएदेखि बारा, पर्सा र रौतहटका व्यवसायीहरुलाई आतंकित तुल्याउँदै आएको अवस्थामा गत फागुन २५ गते दाहालको सरुवा भएपनि विगत डेढ महीनादेखि पथलैयामै बसेर विगत झैं व्यवसायी र ट्रान्सपोर्टहरुबाट विभिन्न बहानामा आर्थिक असुली गरिरहेको एक व्यवसायीले बताएका छन् ।

पर्सा, बारा, रौतहट जिल्लाबाट राजधानी लगायतका शहरतर्फ जाने मालसामानमा विभिन्न त्रुटि निकालेर व्यवसायी र ट्रान्सपोर्टरसँग असुलीमा खप्पिस दाहाल मौका पाए व्यवसायीलाई आमाचकारी गाली समेत दिन पछि नहट्ने गरेको एक पीडित व्यवसायीले राष्ट्रिय सहारालाई बताएका छन् । अवैध कारोबारीलाई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा सुब्बा दाहालले रातो कार्पेटमा स्वागत गर्ने गरेका छन् भने वैधानिक रुपले कारोबार गर्ने व्यवसायीलाई डर, त्रासमा राख्ने गरेको पनि एक पीडित व्यवसायीको भनाइ छ ।

यसरी सरुवा भएको डेढ महीना बितिसक्दा पनि रवाना नलिई पथलैयामा बसेर आफ्नो धन्दालाई निरन्तरता दिइरहेको चर्चा सम्बन्धमा राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख हरि शर्मासँग जिज्ञासा राख्दा उहाँले कर्मचारी अभाव भएर आफूले नै दाहाललाई राखेको बताउनुभयो ।

उहाँले यहाँ कुनै कर्मचारी आउनै मान्दैन जस्तो गैरजिम्मेवारी जवाफ दिनुभयो । अब चाहिं केही दिनमा रवाना दिएर पठाउने उहाँले बताउनुभयो । समाचार स्रोतका अनुसार प्रमुख शर्माले नै हालसम्म दाहाललाई रोकेर सरुवा थमौतीको प्रयासमा जुटेको बताइन्छ ।

कमेन्टहरु